
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै शाहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन् ।
ठाकुरले सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा नगरेको दाबी गरे ।
सांसद ठाकुरले प्रधानमन्त्री शाहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाए । साथै, राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उनको जिकिर छ ।
‘बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । दलका नेताहरू असुरक्षित महशुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ । सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन । नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ । यो सरकारले ट्रेड युनियन, विद्यार्थी सङ्गठनलाई खारेज गरेको छ । यस किसिमले प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उनले हेर्नै चाहँदैन । अर्गनाइजेसनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो ? आफ्नो सङ्गठन बनाउने हो कि कि आफ्नो स्वतन्त्र के भन्ने उनलाई ? नेपाली डिक्टेटर, नेपाली हिटलर । नेपाली हिटलर भइसकेको छ उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानून हो । त यस प्रकार चाहिँ देशलाई धरातल उसमा लागिरहेको छ ।’






प्रतिक्रिया