
काठमाडौं । विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई उपाधि दाबेदार मानिएको थियो । किलियन एम्बाप्पे, उस्मान डेम्बेले, माइकल ओलिसे जस्ता स्टार खेलाडी भएको टोलीले स्पेनविरुद्ध कडा चुनौती दिने अपेक्षा गरिएको थियो । तर मैदानमा भने अवस्था फरक देखियो । स्पेनले खेलको सुरुदेखि नै नियन्त्रण कायम गर्दै फ्रान्सलाई २–० ले हरायो र विश्वकपको फाइनलमा स्थान बनायो ।
फ्रान्सको हार केवल दुई गोलले मात्र भएको होइन, खेलको अधिकांश समय स्पेनले रणनीतिक रूपमा फ्रान्सलाई दबाबमा राख्यो । बलमा नियन्त्रण, मिडफिल्डको प्रभाव र अवसर सिर्जनामा स्पेन स्पष्ट रूपमा अगाडि रह् यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि फ्रान्स यो खेलमा प्राविधिक र रणनीतिक दुवै हिसाबले पछि परेको विश्लेषण गरेका छन्।
फ्रान्स सबैभन्दा धेरै चुक्यो मिडफिल्डमा । स्पेनका रोड्री र पेड्रीले खेलको गति नियन्त्रण गरे भने फ्रान्सका औरेलियन चुआमेनी र एड्रियन राबियोले अपेक्षित प्रभाव छाड्न सकेनन् । सुरुमै राबियोले पहेंलो कार्ड पाएपछि उनी आक्रामक चुनौती दिन हिच्किचाए, जसको फाइदा स्पेनले उठायो ।
मिडफिल्ड कमजोर बनेपछि फ्रान्सका फरवार्डसम्म बल सहज रूपमा पुग्न सकेन ।

फ्रान्सको अर्को ठूलो कमजोरी आक्रमणमा देखियो । एम्बाप्पे, डेम्बेले र ओलिसे जस्ता खेलाडीलाई स्पेनको रक्षापंक्तिले प्रभावकारी रूपमा नियन्त्रणमा राख् यो। उनीहरूलाई खुला ठाउँ नै दिइएन । विशेषगरी एम्बाप्पेले आफ्नो गति र व्यक्तिगत कौशल देखाउने अवसर निकै कम पाए । स्पेनले सामूहिक रक्षात्मक खेल देखाउँदै फ्रान्सका सबै प्रमुख आक्रमणलाई लगभग निष्क्रिय बनाइदियो ।
पहिलो गोलले पनि खेलको दिशा परिवर्तन गरिदियो । लामिन यामालमाथि भएको फाउलपछि स्पेनले पेनाल्टी पायो र मिकेल ओयारजाबालले त्यसलाई गोलमा परिणत गरे । त्यस निर्णयलाई लिएर केही विवाद भए पनि रेफ्रीको निर्णय कायम रह्यो । त्यसपछि फ्रान्स खेलमा फर्किन संघर्षरत रह्यो भने स्पेनले थप आत्मविश्वासका साथ खेल नियन्त्रण गर्यो ।
दोस्रो हाफमा फ्रान्सले केही परिवर्तन गरेर दबाब बढाउने प्रयास गर्यो । तर स्पेनको संगठित रक्षापंक्ति र अनुशासित खेलका कारण फ्रान्सले स्पष्ट गोल गर्ने अवसर बनाउन सकेन । बरु पेड्रो पोरोले दोस्रो गोल गर्दै स्पेनको जित लगभग निश्चित बनाए। त्यसपछि फ्रान्सको खेल अझै अस्तव्यस्त देखियो ।
फ्रान्सका प्रशिक्षक डिडिए डेसच्यम्पसले पनि खेलपछि आफ्नो टोली स्पेनभन्दा कमजोर देखिएको स्वीकार गरेका थिए । खेलाडीहरूले स्पेनको लय र बल नियन्त्रण रोक्न नसकेको तथा आफूहरू दोस्रो उत्कृष्ट टोली बनेको उनको प्रतिक्रिया थियो । अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि फ्रान्सले स्पेनको प्रेसिङ, पासिङ र खेलको गति नियन्त्रणसँग तालमेल मिलाउन नसकेको बताएका छन् ।

स्पेनले यस प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै आएको थियो र सेमिफाइनलमा पनि त्यसलाई निरन्तरता दियो । बल गुमाएपछि तुरुन्तै प्रेसिङ गर्ने, मिडफिल्डमा संख्यात्मक बलियो उपस्थिति बनाउने र अवसरलाई गोलमा बदल्ने क्षमताले स्पेनलाई फाइनलसम्म पुर्यायो ।
उता फ्रान्स व्यक्तिगत प्रतिभामा भर परे पनि सामूहिक खेलमा पछि पर्दा उपाधि यात्रा सेमिफाइनलमै टुंगियो ।
यस हारसँगै फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल पुग्ने सपना समाप्त भएको छ । प्रतियोगिताभर प्रभावशाली देखिएको टोली निर्णायक खेलमा भने आफ्नो स्तरअनुसार प्रदर्शन गर्न असफल रह्यो । स्पेनले भने फेरि एकपटक विश्व फुटबलमा आफू किन सबैभन्दा सन्तुलित र अनुशासित टोली हो भन्ने प्रमाणित गर्दै विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ।






प्रतिक्रिया