
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भूमिकामाथि प्रश्न उठाएकी छन् ।
बुधवार बसेको अर्थ समितिको बैठकमा सांसद अधिकारीले वर्षौंदेखि भइरहेको भनिएको उधारो सेयर कारोबार, कृत्रिम मूल्यवृद्धि, प्रि–आईपीओमा प्रिमियम निर्धारण र फन्ड म्यानेजरको फ्लिपिङ प्रवृत्तिका बारेमा प्रश्न गरेकी हुन् ।
उनले फन्ड म्यानेजरहरूले कोटामार्फत प्राप्त सेयर छोटो अवधिमै बिक्री गरी नाफा कमाउने ‘फ्लिपिङ’ प्रवृत्ति बढेको बताइन् । यसलाई रोक्न सेबोनले लक–इन वा अन्य कुनै प्रभावकारी व्यवस्था गरेको छ कि छैन भनी उनले प्रश्न गरिन् । उनले फन्ड म्यानेजरको कोटा हटाउने वा पुनर्संरचना गर्ने विषयमा पनि बोर्डसँग जवाफ मागिन् ।
सेबोन ‘प्रो–एक्टिभ’ नियामक बन्नुपर्नेमा ‘रि–एक्टिभ’ रूपमा मात्र काम गरिरहेको उनको आरोप छ ।
सीमित व्यक्तिले रकम भुक्तानी नै नगरी अर्बौँ रुपैयाँ बराबरको सेयर उधारोमा खरिद–बिक्री गरी कृत्रिम मूल्यवृद्धि गरेको उनले बताइन् ।
त्यसमा उच्च तहका कर्मचारीको समेत संलग्नता रहेको आरोप लागेको उनको भनाइ छ ।
धितोपत्र ऐन, २०६३ विपरीत वर्षौंदेखि उधारो कारोबार भइरहँदा सेबोनले त्यसबारे जानकारी किन पाएन भनी उनले प्रश्न गरिन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेपछि मात्र अनुसन्धान सुरु हुनुले नियामकीय निकायको कमजोरी देखिएको प्रष्ट भएको उनको भनाइ छ। उनले सेबोनले ब्रोकर कम्पनीमाथिको नियमित अनुगमन गर्न नसकेको पनि आरोप लगाइन्।
बैठकमा अधिकारीले यसो भनिन्
फन्ड म्यानेजरहरूले कोटामार्फत पाउने जुन सेयर छ, त्यसलाई छिट्टै बिक्री गरेर छोटो अवधिमा नाफा कमाउने फ्लिपिङको प्रवृत्तिलाई रोक्न लक–इन वा अन्य के व्यवस्था गरिएको छ? यो कोटा हटाउने वा पुनर्संरचना गर्ने विषयमा सेबोनको धारणा के छ? सेबोन प्रो–एक्टिभ हुनुपर्नेमा एकदम रि–एक्टिभ भयो। सीमित व्यक्तिहरूले रकम भुक्तानी नै नगरी अर्बौँको सेयर उधारोमा खरिद–बिक्री गरी कृत्रिम मूल्यवृद्धि गरे। यसमा उच्च तहका कर्मचारीहरू पनि संलग्न भएको कुरा आएको छ। यो विषय नेपालको वित्तीय क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय अपराध हो, जसमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि छ। धितोपत्र ऐन २०६३ विपरीत यस्ता गतिविधि वर्षौंदेखि हुँदा पनि सेबोनले किन पत्ता लगाउन सकेन? के सेबोनको रियल टाइम बजार अनुगमनमा कमजोरी थियो? यतिका वर्षसम्म यो कसरी सम्भव भयो? ब्रोकर कम्पनीमाथि सेबोनको नियमित अनुगमन र लेखा परीक्षण प्रक्रियामा के त्रुटि थियो? सेबोनले ब्रोकरहरूलाई दैनिक कारोबार अनुगमन प्रणालीको संरचनात्मक सुधारका लागि के कस्तो कदम चालिरहेको छ? उधारो वा विना भुक्तानी भएका कारोबार जाँच गर्न के गरिँदै छ? आजभोलि धेरै कम्पनीहरूले प्रि–आईपीओका नाममा सर्वसाधारण लगानीकर्ताबाट प्रिमियमसहितको रकम संकलन गर्ने चलन छ। प्रिमियम मूल्य निर्धारण गर्दा नियमतः प्रतिसेयर नेटवर्थको आधारमा हुनुपर्ने हो। प्रि–आईपीओमा प्रिमियम कसरी निर्धारण हुन्छ? यो उठेको ठूलो रकम कुन कोषमा जम्मा हुन्छ र कसरी सुरक्षित राखिन्छ? अर्को कुरा, आईपीओ निष्कासन गर्नुअघि कम्पनी नाफामा देखिन्छन् तर निष्कासनको केही महिनामै घाटामा जान्छन्। प्रवर्द्धकहरू लक–इन पिरियड सकिनेबित्तिकै सजिलै आफ्नो सेयर बेचेर बाहिरिन्छन्। यसलाई रोक्न अहिलेको लक–इन व्यवस्थाले काम गरिरहेको छ कि छैन?’






प्रतिक्रिया