मैदानमा हिँडेरै फुटबल राज गर्ने मेस्सीको जादु, विश्वकपको ४७% समय हिँडेरै बिताए


एजेन्सी । यदि अर्जेन्टिना सन् १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो राष्ट्र (इतिहासकै तेस्रो) बन्ने हो भने लियोनल मेस्सी त्यसको केन्द्रमा हुनेछन् ।

३९ वर्षीय मेस्सीले आफ्नो छैटौँ विश्वकपमा (पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगको कीर्तिमान बराबरी गर्दै) ८ गोल र ३ असिस्टका साथ उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

तर, गोल्डेन बुटको दौडमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेसँगै अगाडि रहेका मेस्सी सन् २००३ मा बार्सिलोनाबाट डेब्यु गर्दाको मेस्सीभन्दा निकै फरक देखिएका छन्।

अर्जेन्टिनाले बुधबार एटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी इङ्गल्यान्डको सामना गर्नेछ जहाँ सबैको ध्यान पुनः मेस्सीमाथि नै हुनेछ ।

धेरैजसो खेलाडीहरूको उमेरसँगै खेल स्तर खस्कन्छ । तर उत्कृष्ट खेलाडीहरूले आफूलाई समय अनुसार ढाल्न जान्दछन् । रोनाल्डोले आफ्नो गति घटेपछि आफूलाई ‘पेनाल्टी बक्स’ भित्रको सिकारीका रूपमा परिवर्तन गरे ।

मेस्सी भने केवल ढल्दो उमेरसँग जुधिरहेका छैनन्, बरु उनले खेललाई नै आफ्नो नियन्त्रणमा राख्न आफूलाई यस्तो स्वरूपमा ढालेका छन् कि सधैं अरूभन्दा अगाडि रहुन् ।

यस विश्वकपमा उनले अवसरहरू धेरै सिर्जना गरिरहेका छन् तर हिँडिरहेका धेरै छन् । उनले ३३ पटक प्रहार र २१ पटक अवसर सिर्जना गरेका छन् । यो सन् १९८६ मा डिएगो म्याराडोना पछिको सबैभन्दा धेरै (कुल ५४) हो ।

उनले यो सफलता मैदानमा ४७ प्रतिशत समय हिँडेरै हासिल गरेका हुन्, जुन कुनै पनि अन्य ‘आउटफिल्ड’ खेलाडीको तुलनामा सबैभन्दा धेरै हो।

मेस्सीले अर्जेन्टिनाका अन्य खेलाडीको तुलनामा सबैभन्दा कम दूरी तय गरेका छन्- प्रति ९० मिनेट औसत ८.२ किलोमिटर ।

तथ्यांक यतिमा मात्र रोकिँदैन । उनले प्रति खेल औसत २.७ पटक मात्र ‘स्प्रिन्ट’ (तीव्र दौड) गरिरहेका छन्, जबकि चार वर्षअघि यो ५.३ थियो ।

ग्वार्डिओलाले मेस्सीलाई विङ्गबाट किन हटाए ?

जब तत्कालीन विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डिन्होले पहिलो पटक मेस्सीलाई अभ्यासमा देखे, उनले भनेका थिए ‘यो केटो संसारकै उत्कृष्ट हुनेछ ।’

सन् २००८ मा पेप ग्वार्डिओला प्रशिक्षक बनेपछि सुरुका केही महिना मेस्सीको लागि मैदानको दायाँ भाग नै उनको मुख्य क्षेत्र थियो । तर ग्वार्डिओलाले उनलाई रक्षात्मक कारणले गर्दा बीच भागमा सार्ने निर्णय गरे । उनले बुझेका थिए कि मेस्सीलाई टोलीको सञ्चालन केन्द्रमा राख्नुपर्छ।

‘फल्स नाइन’ र प्रणाली परिवर्तनको सुरुवात

२ मे २००९ मा रियल म्याड्रिड विरुद्धको खेलमा ग्वार्डिओलाले मेस्सीलाई दायाँ विङ्गबाट हटाएर अग्रपंक्तिको बीचमा राखे, तर एउटा परम्परागत स्ट्राइकरको भूमिकामा होइन । मेस्सीलाई ‘ड्रप हुने, बल लिने र निर्णय गर्ने’ स्वतन्त्रता दिइयो । त्यो खेल बार्सिलोनाले ६-२ ले जित्यो । ‘फल्स नाइन’ को नयाँ जन्म भयो ।

त्यसपछि मेस्सी विपक्षी टोलीका लागि एउटा यस्तो समस्या बने जसको कुनै समाधान थिएन । २०११ देखि २०१३ को बीचमा मेस्सीले ६९ ला लिगा खेलमा ९६ गोल गरे । उनले कुल ८ पटक ब्यालोन डी’ओर जिते, जसमध्ये पहिलो २२ वर्षको उमेरमा र पछिल्लो ३६ वर्षको उमेरमा जितेका थिए ।

परिवर्तन: टोलीको इन्जिन

जब जाभी र इनिएस्टाले बार्सिलोना छोडे, मेस्सीमाथि टोलीको पूरै भार आयो । मेस्सी अब गोलकर्ता मात्र रहेनन्, उनी ‘इन्चे’ (हुक) बने – अर्थात् गहिरो भागबाट खेल सञ्चालन गर्ने र अन्त्य पनि आफैं गर्ने खेलाडी।

पीएसजीमा उनको पहिलो सिजनमा गोलभन्दा धेरै असिस्ट (११ गोल, १५ असिस्ट) हुनुले उनको यो नयाँ भूमिकालाई पुष्टि गर्‍यो ।

कप्तानको भार र मुक्ति

लामो समयसम्म अर्जेन्टिनाका लागि उनले हारको पीडा भोग्नुपर्‍यो । २०१४ को विश्वकप फाइनल र त्यसपछिका दुई कोपा अमेरिका फाइनलमा बेहोरेको हारले उनलाई निराश बनाएको थियो । तर २०२१ को कोपा अमेरिका जितपछि उनी मानसिक रूपमा मुक्त भए ।

२०२२ को विश्वकपको मेस्सीमा पहिलेका सबै रूपहरूको मिश्रण थियो – सेमिफाइनलमा क्रोएसिया विरुद्धको त्यो अद्भुत दौड (जहाँ पुरानो विङ्गर मेस्सी देखिन्थे) र फाइनलमा फ्रान्स विरुद्धको सटिक पास र नेतृत्व।

‘अन्तिम मेस्सी नै सधैं उत्कृष्ट मेस्सी हुन्छन्’

अहिले इन्टर मियामी र राष्ट्रिय टोलीमा मेस्सी दौडिनु भन्दा धेरै हिँड्छन्। आलोचकहरूले पहिले यसलाई कमजोरी भन्थे, तर अहिले यसलाई उनको खेलमाथिको पूर्ण पकड मानिन्छ । उनी ऊर्जा बचाउँछन् र सही समयमा त्यसको प्रयोग गर्छन् ।

उनका बाल्यकालका आदर्श पब्लो आइमारले भनेका थिए, ‘अन्तिम मेस्सी नै सधैं उत्कृष्ट मेस्सी हुन्छन्।’ उनी सायद अझै सही छन्।

मेस्सीले दुई दशकमा जे हासिल गरे, त्यो केवल ट्रफी र तथ्याङ्क मात्र होइन। यो त फुटबल करियरको हरेक चरणमा आफूलाई कसरी नयाँ रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण हो । उनी कहिले जादुमयी विङ्गर बने, कहिले खेलको नक्सा बदल्ने ‘फल्स नाइन’, कहिले अरूलाई उत्कृष्ट बनाउने ‘प्लेमेकर’ त कहिले विश्वकप जित्ने कप्तान । र अहिले, उनी एक यस्तो अनुभवी खेलाडी हुन् जो कम दौडेर पनि मैदानमा सबै कुरा पहिले नै देख्न सक्छन् ।