राहदानी विभागले गर्‍यो डेटा माइग्रेसन, नयाँ प्रणाली कार्यान्वयनमा


काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ कार्य सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको यस विभागले असार २९ गतेदेखि नयाँ प्रविधिमार्फत सेवा सुचारु गरेको हो । यस ऐतिहासिक प्रक्रिया अन्तर्गत करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी पुराना विवरणहरूलाई सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ ।

नयाँ प्रणाली कार्यान्वयनको सुरुवाती चरणमा केही प्राविधिक चुनौतीहरू देखिन सक्ने विभागले स्पष्ट पारेको छ । ‘गो-लाइभ’ भएपछिका सुरुका दिनहरूमा प्रणालीमा केही सुस्तता आउन सक्ने र राहदानी वितरणमा सामान्य ढिलाइ हुनु स्वभाविक रहेको भन्दै विभागले सेवाग्राहीलाई धैर्य धारण गर्न आग्रह गरेको छ । यस्ता सम्भावित समस्याहरूको शीघ्र र दीर्घकालीन समाधानका लागि विभागको प्राविधिक टोली र प्रणाली विकास गर्ने कम्पनीका विज्ञहरू चौबिसै घण्टा ‘स्ट्यान्ड-बाई’ (Stand-by) रही अनुगमन र सुधारमा खटिरहेको सूचनामा उल्लेख छ ।

विभागले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुर्‍याउन सेवाग्राहीहरूसँग विशेष अपिल समेत गरेको छ । अहिलेको सुरुवाती चरणमा अत्यन्तै आवश्यक भएका व्यक्तिहरूलाई मात्र आवेदन दिन आग्रह गर्दै विभागले यसले प्रणाली व्यवस्थापनमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ ।