
एजेन्सी । एप्पलले शुक्रबार उत्तरी क्यालिफोर्नियाको संघीय अदालतमा ओपनएआई विरुद्ध मुद्दा दायर गर्दै उक्त आर्टिफिसियल इन्टेलिजेन्स ल्याबले आफ्नै कन्जुमर हार्डवेयर विकास गर्नका लागि आईफोन निर्माताको व्यापारिक गोपनीयता र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएको छ ।
एप्पलले कानुनी उजुरीमा उल्लेख गरे अनुसार, ओपनएआईले आफ्ना प्राविधिक कर्मचारीदेखि मुख्य हार्डवेयर अधिकारीसम्मको तहमा व्यापारिक साझेदारहरूसँग मिलेर योजनाबद्ध रूपमा एप्पलको गोप्य जानकारीहरू चोरी गरिरहेको छ ।
यो घटना यी दुई कम्पनीहरूका लागि अप्रत्याशित मोड हो किनकि सन् २०२४ मा उनीहरूबीच आईफोनको अपरेटिङ सिस्टममा च्याटजीपीटीलाई एकीकृत गर्ने गरी एक उच्चस्तरीय साझेदारी भएको थियो । उक्त घोषणाका लागि ओपनएआईका सीईओ साम अल्टम्यान आफैं एप्पलको मुख्यालय पुगेका थिए ।
तर, गत वर्ष ओपनएआईले एप्पलका पूर्व डिजाइनर जोनी आइभको स्टार्टअप आईओ प्रोडक्ट्सलाई ६.४ अर्ब डलरमा खरिद गरेर हार्डवेयर उद्योगमा प्रवेश गर्ने योजना बनाएपछि यी दुई कम्पनीबीचको सम्बन्धमा चिसोपन आएको थियो ।
एप्पलको सिरी सहायकको अद्यावधिक संस्करण यसै वर्षको शरद ऋतुमा सार्वजनिक हुँदैछ । अब ओपनएआईको प्रविधिको साटो गुगलको जेमिनी एआई मोडलहरूमा आधारित हुनेछ ।
एप्पलका अधिकांश आरोपहरू एप्पल छोडेर ओपनएआईमा आबद्ध भएका पूर्व कर्मचारीहरूसँग सम्बन्धित छन् । एप्पलले ओपनएआईका हार्डवेयर प्रमुख ट्याङ ट्यान (जो एप्पलका पूर्व उपाध्यक्ष हुन्) माथि ओपनएआईमा अन्तर्वार्ताका लागि आउने एप्पलका कर्मचारीहरूलाई एप्पलको गोपनीयता साझा गर्न निर्देशन दिएको आरोप लगाएको छ । ट्यानलाई यस मुद्दामा प्रतिवादी बनाइएको छ ।
उजुरीका अनुसार, ट्यानले एप्पलमा कार्यरत कर्मचारीहरूलाई अन्तर्वार्तामा आउँदा एप्पलका वास्तविक पाटपुर्जाहरू बोकेर आउन निर्देशन दिएका थिए ताकि ओपनएआईको टोलीले ती सामानहरूको निरीक्षण गरेर एप्पलका थप गोप्य जानकारीहरू हासिल गर्न सकोस् ।
ओपनएआईले कम्पनी छोड्न लागेका कर्मचारीहरूलाई सुरक्षा प्रक्रियाहरू कसरी छल्ने भनेर सिकाएको र ओपनएआईमा आबद्ध भएका पूर्व कर्मचारी चाङ लिउले एप्पलको ल्यापटप नै चोरी गरेको दाबी समेत एप्पलले गरेको छ । लिउलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको छ ।
यसबाहेक ओपनएआईले हार्डवेयर कम्पनीहरूलाई एप्पलले नै आविष्कार गरेको मेटल फिनिसिङ प्रविधि प्रयोग गर्न लगाएको र त्यसो गर्दा एप्पलको अनुमति रहेको भन्दै साझेदारहरूलाई भ्रममा पारेको आरोप एप्पलले लगाएको छ ।
एप्पलका प्रतिनिधिले सीएनबीसीलाई दिएको बयानमा ओपनएआईका कर्मचारीहरूले एप्पलको अप्रकाशित प्रविधि, प्रक्रिया र उत्पादनहरू सम्बन्धी गोप्य जानकारीहरू गलत तरिकाले लिएको ठोस प्रमाण फेला परेको बताएका छन् । अर्कोतर्फ, ओपनएआईका प्रतिनिधिले आफूहरूलाई अन्य कम्पनीको व्यापारिक गोपनीयतामा कुनै रुचि नभएको र मानिसहरूलाई सशक्त बनाउने नवीन प्रविधि निर्माणमा केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
आईओ प्रोडक्ट्सलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको छ । ओपनएआईले आफ्ना हार्डवेयर उत्पादनहरू कहिले र कस्ता हुनेछन् भन्नेबारे आधिकारिक जानकारी नदिए पनि साम अल्टम्यानले नोभेम्बरमा पहिलो प्रोटोटाइपहरू तयार भइसकेको बताएका थिए । यस मुद्दाले एप्पल इन्टेलिजेन्समा च्याटजीपीटीको एकीकरण गर्ने वर्तमान साझेदारीलाई असर गर्छ कि गर्दैन भन्नेबारे एप्पलले कुनै टिप्पणी गरेको छैन ।
ऐतिहासिक सार्वजनिक निष्काशन (आईपीओ) को तयारीमा रहेको ओपनएआईका लागि यो बढ्दो कानुनी झमेला अर्को ठूलो जोखिम बनेको छ । एप्पलको यो उजुरी ओपनएआईले टेस्ला र स्पेसएक्सका सीईओ इलोन मस्क विरुद्धको उच्चस्तरीय मुद्दा जितेको दुई महिनापछि आएको हो ।
उक्त मुद्दामा मस्कले ओपनएआईलाई गैर–नाफामूलक संस्थाको रूपमा चलाउने सम्झौता उल्लंघन गरेको दाबी गर्दै मुद्दा हाल्न धेरै ढिला गरेको संघीय जुरीले ठहर गरेको थियो । त्यसमा मस्कले पुनरावेदन गर्ने बताएका छन् ।
एप्पलले यस मुद्दा मार्फत क्षतिपूर्ति, निषेधाज्ञा र ओपनएआईलाई आफ्नो व्यापारिक गोपनीयता प्रयोग गर्नबाट रोक्ने आदेशको माग गरेको छ ।






प्रतिक्रिया