मलाई मार्छन् तर म स्वदेश फर्कन्छु : शेख हसिना

210
Shares

एजेन्सी । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले आफू र प्रतिबन्धित अवामी लिगका वरिष्ठ सहकर्मीहरू आगामी डिसेम्बर महिनातिर भारतको निर्वासनबाट बंगलादेश फर्कने र अदालतसमक्ष आत्मसमर्पण गर्ने योजनामा रहेको बताएकी छन् ।

बंगलादेशमा उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०२४ मा देश छोडेर भागेकी हसिनाले आफू स्वैच्छिक रूपमा फर्कन लागेको र त्यहाँ पुग्नेबित्तिकै पक्राउ पर्ने वा मृत्यु हुन सक्ने जोखिमको पूर्ण हेक्का रहेको बताएकी छन् ।

रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनेकी छन्, ‘म फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन् वा मलाई मार्न पनि सक्छन् । तैपनि म जानैपर्छ । मेरा पार्टीका नेता र कार्यकर्ताहरूमाथि चरम दमन भइरहेको छ । मृत्यु नै आउने हो भने म मेरै देशको माटोमा मर्न चाहन्छु जहाँ मेरा आमाबुबालाई गाडिएको छ र जहाँ उनीहरूको रगत बगेको थियो ।’

उनले आफूले आत्मसमर्पण गर्ने र पार्टीका अन्य सदस्यहरूलाई पनि त्यसै गर्न निर्देशन दिएको जानकारी दिइन् ।

आफू दोषी ठहर भएको र चुनाव लड्न अयोग्य भएको भए तापनि पार्टीलाई निलम्बन गर्न नहुने उनको तर्क छ । ‘जब कुनै सरकारले लामो समयसम्म काम गर्छ, गल्तीहरू हुन सक्छन् । कुनै पनि सरकार त्रुटिरहित हुँदैन,’ उनले भनिन्, ‘तर सरकारको राम्रो र नराम्रो, सही र गलतको फैसला गर्ने अधिकार जनताको हो । म त्यो निर्णय जनताकै हातमा छोड्छु ।’

अर्कोतर्फ, बंगलादेश सरकारले हसिनालाई स्वदेश फिर्ता ल्याउनका लागि कूटनीतिक प्रयासहरू जारी राखेको छ । विदेश राज्यमन्त्री शमा ओबेद इस्लामले ढाकाले कूटनीतिक च्यानलमार्फत हसिनालाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाइरहेको र यसमा कुनै कमी नभएको बताएकी छन् ।

यो प्रक्रिया मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारको समयमा सुरु भएको थियो र अहिले बंगलादेश नेसनल पार्टी नेतृत्वको सरकारले यसलाई पछ्याइरहेको छ ।

शेख हसिना सन् २०२४ मा ठूलो विरोध प्रदर्शनपछि आफ्नो २० वर्ष लामो सत्ता अन्त्य गर्दै बंगलादेशबाट भागेकी थिइन् । नोभेम्बरमा एक युद्ध अपराध अदालतले विद्यार्थी नेतृत्वको आन्दोलनमाथि दमन गर्न आदेश दिएको अभियोगमा उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनले यी आरोपहरू राजनीतिबाट प्रेरित भएको भन्दै तिनलाई अस्वीकार गरेकी छन् । उनले आफ्नो फिर्तीका बारेमा कुनै पनि विदेशी सरकारसँग परामर्श नगरेको र ढाकासँग पनि सम्पर्कमा नरहेको स्पष्ट पारेकी छन् ।

हसिनाले आफ्नो फिर्ती र आत्मसमर्पणको समयतालिका सार्वजनिक रूपमा घोषणा गरेको यो पहिलोपटक हो । उनीसँगै मृत्युदण्डको सजाय पाएका पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल लगायतका नेताहरू पनि फर्कने अपेक्षा गरिएको छ । हसिनाले आत्मसमर्पणको निश्चित मिति वा कुन अदालतमा जाने भन्ने बारेमा नखुलाए पनि अदालतको कारबाही प्रहसन मात्र भएको प्रमाणित गर्ने आत्मविश्वास व्यक्त गरिन् ।

उनको फिर्तीले बंगलादेशमा राजनीतिक विभाजनलाई थप गहिरो बनाउन सक्छ । त्यहाँ सरकारले दुई वर्षको अशान्तिपछि स्थिरता खोजिरहेको छ । यसले हसिनालाई शरण दिएको भारतसँगको सम्बन्धमा पनि असर पार्न सक्छ ।

बंगलादेशले भारतलाई बारम्बार हसिनाको सुपुर्दगीका लागि अनुरोध गर्दै आएको छ । भारतले भने आफूले यस अनुरोधको परीक्षण गरिरहेको र बंगलादेशको नयाँ सरकारसँग रचनात्मक रूपमा संलग्न हुने लक्ष्य राखेको बताएको छ ।

राज्यमन्त्री शमा ओबेद इस्लामले सुपुर्दगी प्रक्रिया स्थापित प्रोटोकल र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनुपर्ने बताएकी छन् । उनले हसिनाको टिप्पणीलाई कानुनी र कूटनीतिक प्रक्रियासँग असान्दर्भिक भन्दै खारेज गरिन् ।