वाईवाई उत्पादक सीजी फुड्सको वार्षिक व्यापार करिब साढे ११ अर्ब रूपैयाँ

49
Shares

काठमाडौं । वाईवाई चाउचाउ उत्पादन तथा विक्री गर्ने सीजी फुड्स नेपालले एक वर्षमा ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

अर्बपति व्यवसायी विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गतको यो कम्पनीले वाईवाई चाउचाउसहित रियो र क्विक्स ब्रान्डमा खाद्य सामाग्री उत्पादन तथा वितरण गर्छ । यही कम्पनीले एकैवर्षमा करिब १२ अर्ब रुपैयाँको सामाग्री विक्री गरेको हो ।

१२ अर्बको व्यापारमध्ये तीनचौथाई (करिब ७५ प्रतिशत) वाईवाईको मात्र छ । कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रालाई उपलब्ध गराएको जानकारीअनुसार सीजी फुड्सले सन् २०२३ मा १२ अर्ब ५१ करोड, २०२४ मा ११ अर्ब ६७ करोड र २०२५ मा ११ अर्ब २५ करोडको व्यापार गरेको छ ।

सीजी फुड्सको देशभर अन्य ३ सब्सिडियरी कम्पनी पनि छन् । सबैको व्यापार हिसाब गर्दा पछिल्लो वर्ष कुल व्यापार २.७२ प्रतिशतले घटेको देखिन्छ ।

गत आर्थिक वर्षको कुल ११ अर्ब ३५ करोड रुपैयाँको व्यापारमध्ये सञ्चालन नाफा ६.६ प्रतिशत छ ।

कम्पनीको प्रमुख कच्चा पदार्थहरुको मूल्य अन्तर्राष्ट्रिय वस्तु बजारमा निर्भर, माग र आपूर्तिको अवस्था, भूराजनीतिक घट्नाक्रम तथा विदेशी विनिमय दरमा हुने उतारचढावले अस्थिर हुने गर्छ । जसले गर्दा कम्पनीको नाफा पनि अस्थिर रहँदै आएको छ ।

कम्पनीको कारोबार र नाफा मार्जिनमा कमी आए पनि कम्पनीको वित्तीय अवस्था निकै सकारात्मक देखिन्छ । गत आवमा सीजी फुड्सको ऋणभार न्यून छ । गत आवमा कम्पनीको समग्र गियरिङ अनुपात ०.२ गुणा रहेको छ । अर्थात् पुँजीको तुलनामा ऋण २० प्रतिशतमात्र हो ।

कम्पनीको ब्याज भुक्तानी क्षमतामा उच्च देखिन्छ । गत आवमा ब्याज भुक्तानी क्षमता अर्थात् इन्टरेस्ट कभरेज रेसियो १५.१ गुणा रहेको छ । अर्थात् उसको सञ्चालन नाफा वार्षिक ब्याजको १५ गुणा बढी छ । यस्तै कम्पनीको कर्जा सेवा भुक्तानी क्षमता (डेट सर्भिस कभरेज रेसियो) ११.८ गुणा छ ।

सन् २०२४ मा १८ गुणा रहेको डेट सर्भिस कभरेज रेसियो १८ गुणा रहेकामा व्यापार र सञ्चालन नाफा घट्दा कम भएको हो । यता सीजी फुड्सको चालु पुँजी तीब्रता ९ प्रतिशत रहेको छ । अर्थात् खुद चालूपुँजी कम्पनीको कुल व्यापारको ९ प्रतिशतमात्र छ ।

चौधरी ग्रुपद्वाको सीजी फुड्स नेपालको पुराना कम्पनीहरुमध्ये एक हो । कम्पनीले नेपालका तीन फरक भौगोलिक क्षेत्रमा सञ्चालनमा रहेका सहायक कम्पनीहरुमार्फत् उत्पादन गर्दै आएको छ । कम्पनीले तयारी चाउचाउसहित पेय पदार्थ, एक्स्ट्रुडेड स्न्याक्सलगायत अन्य दैनिक उपभोग्य वस्तुहरु उत्पादन तथा बिक्री गर्दै आएको छ ।

सन् १९८४ मा थाइल्यान्डको थाई प्रिजभ्र्ड फुड फ्याक्ट्रीसँगको सहकार्यमा नेपालमा पहिलो उद्योगबाट व्यवसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीले वाईवाई चाउचाउसँगै रियो, क्विक्सलगायतका विभिन्न ब्रान्डका खाद्य वस्तु बिक्री गर्दै आएको छ ।

कम्पनीमा उद्योगी विनोद चौधरीका छोरा निर्वाण चौधरीको ७६ प्रतिशत, एप्पोलो इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत, अर्का छोराहरु वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत तथा बाँकी सेयर अन्य तीन जनाको स्वामित्वमा छ । कम्पनीलाई सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत गरिएको थियो ।

रिपोर्टअनुसार कम्पनीले सन् २०२५ मा अघिल्लो वर्षको खुद नाफाको ९२% र सन् २०२६ को ९ महिनामा लगभग १००% नै लाभांशका रूपमा वितरण गरेको छ । यसले गर्दा कम्पनीको भविष्यको पुँजीगत खर्च र तरलतामा दबाब पर्न सक्ने जोखिमलाई इक्राले ‘क्रेडिट कन्सर्न’ का रूपमा उल्लेख गरेको छ ।

कम्पनीको कुल व्यापारमा चाउचाउको हिस्सा ७४% भए पनि बाँकी हिस्सा रियो जुस, क्विक्स चिज बल, चिप्स र अन्य स्न्याक्सले ओगटेका छन् । सीजी फुड्सले नयाँ उत्पादन क्षेत्रमा पनि लगानी गर्ने योजना बनाएको छ ।

इक्राले बजारमा नयाँ आएका चाउचाउ ब्रान्डहरूबारे महत्त्वपूर्ण टिप्पणी गरेको छ । पछिल्लो समय उपभोक्ताको रुचि पिरो चाउचाउतिर बढ्दा नयाँ प्रतिस्पर्धी कम्पनीहरूले बजार हिस्सा तीव्र रूपमा विस्तार गरिरहेका छन्, जसले वाई वाईको एकलौटी बजारलाई चुनौती दिएको छ ।

कम्पनीको चालू पुँजीको तीव्रता निकै कम (९%) छ, जुन सकारात्मक पक्ष हो । कम्पनीसँग बैंकबाट लिएको ऋणको सीमाभित्र अझै ठूलो रकम चलाउन पाउने सुविधा बाँकी रहेकाले तरलता स्थिति मजबुत देखिएको छ ।

सीजी फुड्ले कुल ९९ करोड ५५ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधाका लागि रेटिङ गराएको छ । कम्पनीले रेटिङ गराएको कुल रकममध्ये ३२ करोड २१ लाख रुपैयाँ कोषमा आधारित र बाँकी ६७ करोड ३४ लाख रुपैयाँ गैरकोषमा आधारित कर्जा हो । यो कर्जाका लागि कम्पनीले एवान रेटिङ पाएको छ ।

जसले कम्पनीको अल्पकालीन ऋण तिर्न सक्ने क्षमता निकै बलियो र सुरक्षित रहेको संकेत गर्छ । यो विवरण सीजी फुड्सको देशका ९ नुडल्स लाइन र ४ उत्पादन प्लान्टको हो । कम्पनीको सीजी इन्डस्ट्रियल पार्क तथा काठमाडौं, बर्दिया र सुनसरीस्थित सीजी फुड पार्कबाट विभिन्न ब्रान्डमा सामाग्री उत्पादन गर्ने गर्दछ ।

सब्सिडियरीबाहेक कम्पनी एक्लैले ९ महिनामा गर्यो ६ अर्ब रुपैयाँको व्यापार

३ वटा फुडपार्कबाहेक सीजी फुड्स एक्लैले चालु आवको ९ महिनाको अवधिमा करिब ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनी एक्लैले सन् २०२५ मा ७ अर्ब ७७ करोड रुपैयाँ, सन् २०२४ मा ८ अर्ब १० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ९ अर्ब ११ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको विगतका वर्षहरुमा कारोबार घट्दै गए पनि चालु आवको ९ महिनाको अवधिमा सुधार देखिएको छ । चालु आवमा ९ महिनामा स्ट्यान्डअलोन वित्तीय विवरणका आधारमा कम्पनीले गरेको कारोबारमध्ये ७४ प्रतिशत हिस्सा चाउचाउबाट भएको उल्लेख छ । त्यस्तै, पेय पदार्थ, एक्स्ट्रुडेड स्न्याक्स तथा चिप्सको कारोबार पनि बढ्दै गएको कम्पनीको भनाइ छ ।

स्ट्यान्डअलोन विवरणअनुसार कम्पनीको चालु आवको ९ महिनाको अवधिसम्ममा २१ करोड ३० लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।

विगतका वर्षहरूमा कारोबारमा केही गिरावट देखिए पनि चालु आर्थिक वर्षको ९ महिनामा सीजी फुड्सको स्ट्यान्डअलोन व्यापारमा सुधारको संकेत देखिएको छ ।

विशेष गरी निर्यातमा भएको वृद्धि र गहुँको मूल्यमा आएको गिरावटका कारण कम्पनीको नाफा मार्जिन ६.३ प्रतिशतबाट बढेर ११.२ प्रतिशत पुगेको छ । स्ट्यान्डअलोन आधारमा कम्पनीको ब्याज र ऋण तिर्ने क्षमता २५.८ गुणाको उच्च विन्दुमा छ भने सन् २०२६ अप्रिलसम्ममा कम्पनीसँग २१ करोड ३० लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।