अबुधाबीमा नेपाल यूएई आर्थिक साझेदारी, लगानी र पर्यटन प्रवर्द्धनमा जोड

0
Shares

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली दूतावासले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल यूएई आर्थिक साझेदारी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

बिहीबार (२५ असारमा) अबुधाबीको कोनार्ड होटल, इतिहाद टावर्समा आयोजित उक्त कार्यक्रममा नेपाललाई व्यापार, लगानी, पर्यटन, प्रविधि र व्यावसायिक सहकार्यका लागि एक आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रमको सुरुवात परराष्ट्रमन्त्री शिशिर खनालले पठाएको विशेष सन्देशबाट गरिएको थियो। आफ्नो सन्देशमा मन्त्री खनालले नेपालका प्राथमिकताका क्षेत्रहरूमा यूएईका लगानीकर्ता र व्यवसायीहरूको बढ्दो सहभागिताको स्वागत गर्दै दीर्घकालीन र पारस्परिक लाभका लागि व्यावसायिक साझेदारीलाई सहज बनाउन नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

सो अवसरमा नेपालका राजदूत तेजबहादुर क्षेत्रीले नेपाल र यूएईबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र द्विपक्षीय आर्थिक सहयोग विस्तारको भूमिका उल्लेख गरेका थिए ।

उनले नेपालको लगानीमैत्री वातावरण, जारी आर्थिक सुधार र विशेषगरी जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासका क्षेत्रमा रहेका अवसरहरूका बारेमा जानकारी दिए । राजदूत क्षेत्रीले यूएईका लगानीकर्ताहरूलाई नेपालको उदाउँदो बजारमा लगानी गरी आपसी लाभ प्राप्त गर्न र व्यावसायिक संलग्नता बढाउन विशेष आग्रह समेत गरे ।

कार्यक्रममा यूएईको वैदेशिक व्यापार मन्त्रालयका सचिव फहाद अल गर्गावी, अर्थ तथा पर्यटन मन्त्रालयका सल्लाहकार एवं अबुधाबी चेम्बरका कोषाध्यक्ष महामहिम जुमा मोहम्मद अल कैद लगायत यूएई सरकारका वरिष्ठ अधिकारीहरू, नीति निर्माताहरू र प्रतिष्ठित व्यवसायिक घरानाका प्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सो क्रममा व्यापार, लगानी, पर्यटन, व्यावसायिक कृषि, पूर्वाधार, सूचना प्रविधि, जडीबुटी तथा औषधि उद्योग, ई–कमर्स र डिजिटल अर्थतन्त्र समेटिएका चारवटा विशेष विषयगत प्रस्तुतिहरू दिइएका थिए।

यी प्रस्तुतिहरूले सहभागीहरूलाई नेपालको प्रतिस्पर्धी क्षमता र सरकारले व्यवसायमैत्री वातावरण बनाउन गरेका प्रयासहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए।