भदौमै सञ्चालनमा ल्याउने गरी भाटभाटेनीको टंगालस्थित प्रशासनिक र व्यवसायिक भवन बन्दै

308
Shares

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले काठमाडौं महानगरपालिका वडा नं. ५, टङ्गालमा आफ्नो प्रशासनिक तथा व्यावसायिक भवन निर्माण गर्ने भएको छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा भवन क्षतविक्षत भएकै स्थानमा भाटभटेनीले नयाँ भवन बनाउन लागेको हो ।

प्रस्तावित भवनको निर्माण तथा सञ्चालनपूर्व गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययनको सिलसिलामा कम्पनीले आगामी साउन ५ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनी स्रोतका अनुसार आगामी भदौमै निर्माण सकेर भवन सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ । आन्दोलन भएको एक वर्षकै अवधिमा नयाँ भवन सञ्चालन गर्न लागिएको हो ।

जेनजी आन्दोलनका क्रममा ११ वटा स्टोर जलेर पूर्णरूपले नष्ट भएका थिए । ती मध्ये कोटेश्वर, महाराजगञ्ज, बौद्ध, पोखरा र चितवनमा ५ वटा स्टोर र बालुवाटारको वयेरहाउस सञ्चालनमा आइसकेका छन् ।

यसअघि आन्दोलनले क्षतविक्षत भएका स्टोरहरू पनि भाटभटेनीका संस्थापक मिनबहादुर गुरुङले आन्दोलनको केही महिनामै सञ्चालनमा ल्याएका थिए । जतिसुकै व्यवधान आएपनि ‘हिम्मत हार्न नहुने’ सन्देश उनले दिइरहेका छन् । पुन: ठडिएका भाटभटेनीका स्टोर र वयेरहाउसमा उनले ‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्’ भन्ने सन्देश र भाटभटेनी जलेका फोटोहरू राख्दै आएका छन् । यसमार्फत उनले आफूजस्तै व्यवसायीलाई खरानी टक्टकाएर माथि उठ्नुपर्छ भन्ने सन्देश दिएको बताएका छन् ।

काठमाडौं महानगरपालिका ५ मा बन्ने यो प्रशासनिक तथा व्यवसायिक भवनले स्थानीय वातावरणमा पार्न सक्ने प्रभाव र त्यसको न्यूनीकरणका उपायबारे छलफल गर्न सार्वजनिक सुनुवाई गर्न लागिएको हो ।

सूचनामा उल्लेख भए अनुसार, उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम आगामी साउन ५ गते मङ्गलबारका दिन बिहान ९ बजे टङ्गालस्थित आयोजनाकै प्रस्तावित परिसरमा हुनेछ ।

विशेष गरी काठमाडौँ महानगरपालिकाको वडा नं. ५ लाई प्रत्यक्ष प्रभाव पार्न सक्ने यस भवनका बारेमा स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा व्यक्तिहरूबाट राय, सल्लाह र सुझाव सङ्कलन गर्ने उद्देश्य प्रस्तावक भाटभटेनीले राखेको छ । आयोजनाको वातावरणीय पक्षलाई पारदर्शी र जनमुखी बनाउनका लागि सम्पूर्ण सरोकारवालाहरूलाई उक्त दिन उपस्थित भई आफ्ना धारणा राख्न कम्पनीले आग्रह गरेको छ।

प्रस्तावित भवन निर्माणसँगै सो क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।

यसैबीच भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसमेतको लगानी रहेको दरबारमार्ग स्थित अन्नपूर्ण स्क्वायर होटलको ईआईएकै लागि साउन ४ मै सार्वजनिक सुनुवाईका लागि बोलाइएको छ ।