
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ ।
सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।
निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।






प्रतिक्रिया