
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ ।
‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै यो नयाँ श्रृंखला बजारमा ल्याइएको हो । नेपालगन्जस्थित सिद्धार्थ कटेजमा आयोजित एक विशेष समारोहका बीच यी उत्पादनहरूको औपचारिक अनावरण गरिएको छ ।
नयाँ सार्वजनिक गरिएको ‘एसेन्सियल सिरिज’ मा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई विशेष प्राथमिकता दिइएको छ । नेपाली परिवारहरूको दैनिक आवश्यकता र यहाँको स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने विश्वास कम्पनीले लिएको छ । यस श्रृंखलामा विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनरहरू समावेश छन् ।
श्रृंखला अन्तर्गतको डबल–डोर रेफ्रिजेरेटरमा ‘फ्रोस्ट–फ्री’ प्रविधि रहेको छ, जसले गर्दा म्यानुअल रूपमा बरफ पगाल्नुपर्ने झन्झट हुँदैन । यसमा रहेको ‘स्मार्ट मोड’ सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता प्रदान गरिएको छ । त्यस्तै, वासिङ मेसिनमा नेपालको वातावरणीय अवस्थालाई सुहाउँदो वाटर–रेसिस्टेन्ट कन्ट्रोल प्यानल र कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्ने ‘लो–प्रेसर फिल’ प्रविधि जडान गरिएको छ ।
ऊर्जा–दक्ष प्रविधिसहितको नयाँ एयर कन्डिसनरले प्रभावकारी कुलिङ र हिटिङ सुविधा प्रदान गर्नुका साथै परम्परागत नन–इन्भर्टर एसीको तुलनामा कम विद्युत् खपत गर्दछ । वातावरणमैत्री ग्यास प्रयोग गरिएको यस एसीले शान्त वातावरणमा काम गर्ने कम्पनीको दाबी छ ।
नेपालभर जुन २०२६ देखि बिक्री सुरू हुने यी उत्पादनहरूको प्रारम्भिक मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने बताइएको छ । यी सामग्रीहरू देशभरका आधिकारिक एलजी ब्राण्ड शप, मल्टि–ब्राण्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स प्लेटफर्महरू मार्फत सहजै उपलब्ध हुनेछन् ।
नेपालमा विगत चार दशकदेखि सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूलाई भित्र्याउँदै आएको छ र यस सहकार्यले एलजीलाई नेपालको अग्रणी र विश्वासिलो ब्राण्डको रूपमा स्थापित गरेको छ ।






प्रतिक्रिया