स्टार्टअप वर्ल्ड कप २०२६ का लागि ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

42
Shares

काठमाडौं  । द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता सम्पन्न भएको छ । यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार क्यान महासंघ यस प्रतिष्ठित ग्लोबल प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’ को रूपमा रहनेछ । उक्त सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् ।

यो सहकार्य केवल एउटा प्रतिस्पर्धा मात्र नभएर नेपालभर छरिएर रहेका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्ने र उनीहरूलाई व्यावसायिक रूपमा स्थापित गर्ने महाअभियान हो ।

नेपालको उद्यमशीलता केवल काठमाडौँ उपत्यकामा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो साझेदारीले देशव्यापी रणनीति तय गरेको छ ।

नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू संचालन गरिने बताइएको छ ।

नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ ।

नवप्रवर्तनकारी आइडियाहरूलाई पूँजीसँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिनेछ ।

साझेदारीका क्रममा दुवै संस्थाका नेतृत्वकर्ताहरूले नेपालको आर्थिक समृद्धिका लागि स्टार्टअप कल्चर र डिजिटल फाउन्डेसनको महत्त्वमाथि जोड दिएका छन् ।

‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन् । क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ,’ द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले भने ।

‘द ब्रिटिश कलेजसँगको सहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै हाम्रा प्रविधी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ, क्यान महासंघका कार्यबाहक अध्यक्ष  चिरञ्जीवी अधिकारीले भने ।

पेगासस टेक भेन्चर्सद्वारा विश्वव्यापी रूपमा आयोजना हुने ‘स्टार्टअप वर्ल्ड कप’ विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिष्पर्धाहरू मध्ये एक हो । यो विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने गर्दछ ।

नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ भन्दा बढी) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछन् ।