इजिप्टमा १६ सय पुरानो शहर र सुनको जिब्रो भएका प्राचीन चिहानहरू पत्ता लाग्यो


एजेन्सी । इजिप्टमा हालै भएको एक खोजले धेरै मानिसलाई मानव सभ्यताको विगतसँग जोडिन प्रेरित गरेको छ ।

गत शनिबार देशले दुईवटा ठूला पुरातात्त्विक खोजहरूको घोषणा गरेको छ । तीमध्ये एक पश्चिमी मरुभूमिमा फेला परेको राम्ररी संरक्षित बाइजान्टिनकालीन आवासीय शहर हो । पुरातत्त्वविद्हरूले त्यहाँ रोटी पकाउने ओभन, भान्सा र ढुंगाको पिसानी औजारहरू पनि फेला पारेका छन् जुन खाना पकाउन प्रयोग गरिन्थ्यो ।

पर्यटन तथा पुरातत्त्व मन्त्रालयका अनुसार, पहिलो खोजले चौथो शताब्दीको दाखला ओएसिसको दैनिक जीवन, शहरी विकास र आर्थिक गतिविधिहरूको विवरण दिन्छ जुन समयमा यो देश बाइजान्टिन साम्राज्यको हिस्सा थियो । पुरातात्त्विक परिषद्का महासचिव हिशाम एल–लैथीका अनुसार, उत्खनन गरिएको क्षेत्रमा उत्तर–दक्षिण र पूर्व–पश्चिम दिशामा फैलिएका सडकहरूले सार्वजनिक चोक र खुला ठाउँहरू बनाएका छन् ।

पुरातात्त्विक मिसनका प्रमुख महमुद मसुदका अनुसार, शहरको मुख्य भागमा चौथो शताब्दीको मध्यतिरको एक बेसिलिका चर्च रहेको छ जसले मुख्य सडकहरूलाई हेर्छ । यसका साथै शहरको बाहिरी भागलाई सुरक्षित राख्न दुईवटा वाचटावरहरू पनि बनाइएका छन् ।

यस क्षेत्रमा बाक्लो रक्षात्मक पर्खाल भएको सुदृढ संरचना र स्वागत हल तथा गुम्बज शैलीका छत भएका धेरै घरहरू पनि फेला परेका छन् । तीमध्ये टिसौसको घर पनि छ जो चर्चका एक डिकन (परिचारक) थिए । पुरातत्त्वविद्हरूका अनुसार, शहरमा बेसिलिका निर्माण हुनुअघि यो घरलाई नै चर्चको रूपमा प्रयोग गरिन्थ्यो ।

घर र धार्मिक संस्था मात्र नभई पुरातत्त्वविद्हरूले रोटी पकाउने ओभन, भान्सा र खाना पकाउन प्रयोग गरिने ढुंगाका औजारहरू पनि फेला पारेका छन् । बाइजान्टिन सम्राटहरूको चित्र, ल्याटिन अक्षर र क्रिश्चियन प्रतीकहरू अंकित कास्यका सिक्काहरू र सन् ३३७ देखि ३६१ सम्म शासन गरेका रोमन सम्राट कन्स्टान्टिनस द्वितीयको पालाका सुनका सिक्काहरू पनि त्यहाँ भेटिएका छन् ।

इस्लामिक, कोप्टिक र यहूदी पुरातात्त्विक विभागका प्रमुख जिया जाहरानका अनुसार, लेख्नका लागि प्रयोग गरिने अस्ट्राका भनिने २०० वटा माटाका टुक्राहरू पनि फेला परेका छन् । यसमा व्यापारिक लेनदेन, पत्राचार र दैनिक जीवनका अन्य विवरणहरू अंकित छन् ।

पश्चिमी मरुभूमिको न्यु भ्याली प्रान्तमा अवस्थित दाखला ओएसिस युनेस्कोको सम्भावित सूचीमा छ र यो विश्व सम्पदा सूचीमा थपिने प्रक्रियाको निकै नजिक पुगेको छ । मरिना एल–अलामेनमा चुनढुंगाबाट बनेका सातवटा सतही चिहानहरू फेला परेका छन् ।

यसबाहेक पुरातत्त्वविद्हरूले अलेक्जान्ड्रिया शहरबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने मरिना एल–अलामेन पुरातात्त्विक स्थलमा १८ वटा प्राचीन चिहानहरू फेला पारेका छन् । मन्त्रालयका अनुसार, यसमा ८ मिटर औसत गहिरा ११ वटा चट्टान काटेर बनाइएका चिहान र सातवटा चुनढुंगाबाट निर्मित सतही चिहानहरू छन् ।

यससँगै यहाँ फेला परेका चिहानहरूको कुल संख्या ४८ पुगेको छ । यहाँ माटाका भाँडाकुँडा, एम्फोरा (कलश), दियो, प्लेट, वेदी र चुनढुंगाका बेसिनहरू पनि फेला परेका छन् ।

मिसन प्रमुख इमान अब्देल–खालिकका अनुसार, २.५ मिटर लामो ग्रेनाइटको शवपेटिका फेला परेको छ जसमा रहेका अस्थिपञ्जरहरूको अहिले अध्ययन भइरहेको छ । शवपेटिका नजिकै प्लास्टरबाट बनेको स्फिंक्स मूर्तिको अवशेष पनि भेटिएको छ । अब्देल–खालिकका अनुसार, केही मृतकहरूको मुखमा चारवटा सुनका टुक्राहरू राखिएको पनि भेटिएको छ । त्यसलाई सुनको जिब्रो भनिन्छ ।

यो त्यस समयको अन्त्येष्टि विश्वाससँग सम्बन्धित एउटा परम्परा थियो । मरिना एल–अलामेन उत्तरी तटमा सन् १९८६ मा फेला परेको पुरातात्त्विक स्थल हो । पुरातत्त्वविद्हरूका अनुसार, यो स्थल प्राचीन ग्रीक–रोमन बन्दरगाह शहर ल्युकास्पिस हो जुन दोस्रो शताब्दीमा निर्माण भई चौथो शताब्दीसम्म फस्टाएको थियो ।

सन् २०११ को जनविद्रोह र कोरोना महामारीपछिको राजनीतिक अस्थिरतापछि इजिप्टको पर्यटन क्षेत्र बल्ल तंग्रिन थालेको छ । इजिप्ट सरकारले यी पुरातात्त्विक खोजहरूले देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रलाई थप बढावा दिने आशा गरेको छ ।

विदेशी मुद्रा अभाव झेलिरहेको यस देशका लागि स्वेज नहरसँगै पर्यटन पनि आम्दानीको मुख्य स्रोत हो । सरकारी तथ्यांकअनुसार, गत वर्ष रेकर्ड १ करोड ९० लाख पर्यटकले इजिप्ट भ्रमण गरेका थिए । त्यो सन् २०२४ को तुलनामा २१ प्रतिशतले बढी हो ।

सन् २०२६ को पहिलो चार महिनामा ६१ लाख पर्यटक आएका छन् जबकि सन् २०२५ को सोही अवधिमा यो संख्या ५७ लाख मात्र थियो ।