ऐतिहासिक प्रमबानान मन्दिरको जीर्णोद्धारका लागि भारत र इन्डोनेसियाबीच सम्झौता


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँगै त्यहाँको ऐतिहासिक प्रमबानान मन्दिर परिसरको भ्रमण गरेका छन् ।

उनीहरूले त्रिमूर्ति भगवान् शिव, विष्णु र ब्रह्मालाई समर्पित करिब १ हजार वर्ष पुरानो हिन्दू मन्दिरमा पूजाअर्चना गरे । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भगवान् शिवसँग जोडिने अवसर पाउनु आफ्नो सौभाग्य भएको बताए ।

उनले हाटकेश्वर महादेव रहेको आफ्नो जन्मथलो वडनगर, सोमनाथ ज्योतिर्लिंगप्रतिको जिम्मेवारी, आफ्नो निर्वाचन क्षेत्र काशी (वाराणसी) को काशी विश्वनाथ महादेव र केदारनाथ तथा उज्जैन महाकालको पुनर्विकासको सन्दर्भ जोड्दै यहाँको जीर्णोद्धार सुरु गर्ने अवसर पाउनुलाई ठूलो सौभाग्यका रूपमा अर्थ्याए ।

योग्यकार्ताबाट हेलिकप्टरमार्फत युनेस्को विश्व सम्पदा क्षेत्रतर्फ जाँदै गर्दा प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा मन्दिर परिसरको हवाई दृश्य साझा गर्दै यसलाई भव्य प्रमबानान मन्दिर भनी उल्लेख गरे । मोदीको यो भ्रमण भारत र इन्डोनेसियाले मन्दिर परिसरको संयुक्त संरक्षण र जीर्णोद्धार परियोजना सुरु गर्ने सहमति गरेको एक दिनपछि भएको हो । यसले भारतको एक्ट ईस्ट नीति अन्तर्गत सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ ।

मंगलबार भएको द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति प्रबोवोले संरक्षण पहलका लागि आशयपत्र आदानप्रदान गर्दै शान्त, स्थिर र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रका लागि भारत–इन्डोनेसिया व्यापक रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता दोहोर्याए ।

जाभा टापुमा अवस्थित प्रमबानान इन्डोनेसियाको सबैभन्दा ठूलो हिन्दू मन्दिर परिसर र कम्बोडियाको अंकोर वाटपछि दक्षिणपूर्वी एसियाकै दोस्रो ठूलो मन्दिर हो । करिब ४० हेक्टरमा फैलिएको यस क्षेत्रमा सुरुमा करिब २४० मन्दिरहरू थिए र यो इन्डोनेसियाको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक स्थलमध्ये एक हो जसले भारतीय उपमहाद्वीप र दक्षिणपूर्वी एसियाबीचको शताब्दीयौं पुरानो सम्बन्धलाई झल्काउँछ ।

हिन्दू मताराम साम्राज्यको समयमा नवौं शताब्दीमा निर्माण गरिएको यो मन्दिर राजा राकाई पिकातानले सुरु गरेको र उनका उत्तराधिकारी लोकपालले सम्पन्न गरेको विश्वास गरिन्छ । यसको केन्द्रमा भगवान् शिव, विष्णु र ब्रह्माका तीन विशाल मन्दिरहरू छन् जसमा ४७ मिटर अग्लो शिव मन्दिर परिसरको सबैभन्दा अग्लो र प्रमुख संरचना हो ।

मन्दिरका पर्खालहरू रामायण र अन्य हिन्दू महाकाव्यका दृश्यहरू कुँदिएका जटिल बुट्टाहरूले सजिएका छन् । यसले प्राचीन समुद्री व्यापार मार्गहरू मार्फत दक्षिणपूर्वी एसियामा फस्टाएको सांस्कृतिक र धार्मिक आदानप्रदानलाई प्रदर्शन गर्छन् ।

१०औं शताब्दीमा जाभाको राजनीतिक परिवर्तन र नजिकैको माउन्ट मेरापीको ज्वालामुखी गतिविधिका कारण यो मन्दिर परित्याग गरिएको थियो । पछि भूकम्पले धेरै संरचनाहरूमा क्षति पुर्याएपछि १९औं शताब्दीमा डच औपनिवेशिक शासनकालमा यसको जीर्णोद्धार प्रयास सुरु भएको थियो ।

सन् १९१३ देखि १९५३ को बीचमा भएको ठूलो स्तरको पुरातात्त्विक पुनर्निर्माणले मुख्य मन्दिरहरूलाई पुनः पुरानै स्वरूपमा ल्याएको थियो । सन् १९९१ मा युनेस्को विश्व सम्पदा स्थलको रूपमा मान्यता प्राप्त प्रमबानान हाल इन्डोनेसियाको प्रमुख सांस्कृतिक आकर्षणको केन्द्र हो ।

भारतको सहयोगमा सुरु हुने नयाँ जीर्णोद्धार परियोजनाले नयाँ दिल्ली र जकार्ताबीचको लामो समयदेखिको सभ्यतागत सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै एसियाको एक महत्त्वपूर्ण हिन्दू स्मारकको संरक्षणमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।