
काठमाडौं । महालक्ष्मी ब्रान्डको मैदा, आँटा बेच्ने तिरुपती बालाजी फ्लोर मिलले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले गत आवमा १ अर्ब ३३ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब २४ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ४० करोड २० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब २ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको सन् २०२१ देखि २०२५ सम्ममा वार्षिक समग्रमा ३ प्रतिशतले व्यापार वृद्धि भएको छ । तर, सन् २०२४ मा ११ प्रतिशतले व्यापार घटेको थियो भने गत आवमा ७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले विशेषगरी चोकर र मैदाबाट कारोबार गरेको जनाएको छ । कम्पनीले गत आवमा ५.२० प्रतिशत नाफा मार्जिन गरेको छ । कम्पनीले सन् २०२४ मा ४.९७ नाफा मार्जिन गरेको थियो ।
कम्पनीले गत आवमा ०.८३ प्रतिशत खुद नाफा कमाएको छ । चालु आवको ९ महिनाको अवधिमा ०.७५ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीको कुल नगद सञ्चिती २ करोड ३० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको पुँजी संरचना ऋणभारयुक्त रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपात बढेर ४.०७ गुणा रहेको छ । सन् २०२४मा ३.२४ गुणा थियो । यो वृद्धि मुख्यगरी चालु पुँजी कर्जाको उच्च उपयोगका कारण भएको हो । तर, चालु आवमा घटेर ३.८१ गुणामा झरेको छ । कम्पनीको कुल बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ बढेर ४.२९ गुणा पुगेको छ । सन् २०२४ मा ३.५२ गुणा थियो ।
कम्पनीको पुँजी संरचना ऋणमा निर्भर भए पनि कर्जा कवरेज सूचकमा सुधार आएको छ । कम्पनीको ब्याज कभरेज अनुपात बढेर १.५६ गुणा पुगेको छ । सन् २०२४ मा १.२० गुणा थियो । साथै, चालु आवको ९ महिनाको अवधिमा थप बढेर १.७० गुणा पुगेको छ । कम्पनीको कर्जा सेवा कभरेज अनुपातमा पनि सुधार आएको छ । चालु आवको ९ महिनाको अवधिमा कर्जा सेवा कभरेज अनुपात १.६४ गुणा पुगेको छ । सन् २०२५ मा १.४९ गुणा थियो ।
सन् २०१३ मा स्थापना भएको कम्पनीले मैदा, आँटा, सुजी र चोकर उत्पादन गरी महालक्ष्मी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक २७ हजार ३ सय मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनी उत्पादन गरेको खाद्य वस्तु ०.५ केजीदेखि ५० केजीसम्मको प्याकेजिङमा बिक्री वितरण गर्दै आएको छ ।
विकाश अग्रवालको ९४ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड ८९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ३१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८४ करोड ५७ लाख रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया