अर्थमन्त्रीको भनाईलाई डेपुटी गभर्नरले दिए यस्तो टक्कर



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पुँजीबृद्धि नभएको भए बैंकहरुलाई थप कर्जा दिन समस्या आउने बताएका छन् ।

बिहीबार महालक्ष्मी विकास बैंकले ल्याएको नयाँ प्रोडक्ट स्मार्ट बैकिङ लन्चिङ कार्यक्रममा बोल्दै राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटले भने,‘२ अर्बबाट ८ अर्ब पुँजी पुर्याउदा त कर्जा दिन तपाईहरुलाई पैसा पुगेन,२ अर्ब भएको भए कसरी पैसा पुग्थ्यो ?’

अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक रुपमा र आफुले ल्याएको स्वेतपत्रमा पुँजीबृद्धिको कारण बैंकहरुले आक्रामक लगानी गरेको र यो नीति गलत भएको बताउँदै आएका छन् ।

अर्थमन्त्रीले पुँजीबृद्धि गलत बताइरहदा शिवाकोटीले भने पुँजीबृद्धिको नीतिको प्रतिरक्षामा उभिएका हुन् ।

डेपुटी गभर्नर शिवाकोटीले पुँजीबृद्धि गर्दा सबैले ठिक भएन भनेपनि पुँजीबृद्धि गरेको कारण थप कर्जा विस्तार गर्न बैंकहरु सक्षम भएको बताए ।

उनले बैकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान तर्फ गएको भन्दै देश अब आर्थिक विकासको चरणमा प्रवेश गरेको बताए ।

पछिल्लो समय बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा देशमा भित्रने बैदेशिक मुद्राको प्रमुख स्रोत रेमिटेन्सको बृद्धिदर घट्दै गएको छ । जसको कारण पछिल्लो दशक यताकै शोधानान्तर घाटा उच्च भएको छ ।

डेपुटी गभर्नर शिवाकोटीले देशमै काम गर्ने वातावरण बन्दै जादा विदेशमा जाने कामदारको संख्या घटेको बताए ।

‘ सबै खालका निर्वाचनपछि अब विदेश जानु पर्दैन भनेर युवादेखि सबै नेपाली उत्साहित छन्,नेपालमा काम गर्ने वातावरण बन्दै गएपछि विदेश नभएर यही काम गर्न नेपालीले खोजेका छन्’,शिवाकोटीले भने ।

देशमा आर्थिक सम्बृद्धिको लागि सबै उत्साहित भएपछि कर्जाको माग बढेको भन्दै यो राम्रोको लागि भएको बताए ।

अर्थमन्त्री खतिवडाले ल्याएको स्वेतपत्रमा कर्जा विस्तार उत्पादन मुलक क्षेत्रमा नभएको उल्लेख छ ।

‘राम्रो कुरा भएपछि कर्जाको माग बढ्यो,तपाईहरुको पुँजी २ अर्ब भएको भए अहिलेजतिपनि कर्जा दिन सक्नुहुन्थेन, ८ अर्ब पुर्याउदा त यस्तो अवस्था छ, २ अर्ब भएको भए कस्तो हुन्थ्यो’,शिवाकोटीले भने ।

कार्यक्रममा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले विकास बैंकलाई पनि विदेशबाट पुँजी ल्याउन दिनुपर्ने माग राखेका थिए ।

उनले हिजोको दिनमा वाणिज्य बैंक अनुसारको पुँजीभन्दा बढी अहिले राष्ट्रिय स्तरका विकास बैंकको भएको भन्दै सो अनुसारको व्यवहार गर्न माग गरेका थिए ।

लामिछानेको भनाईलाई भने डेपुटी गभर्नर शिवाकोटीले वाणिज्य बैंकले पाउने सबै सुविधा विकास बैंकले पाउन नसक्ने बताए ।

जेठो छोरा ठूलो भयो र छुट्टिएर हिड्यो भन्दैमा त्यही व्यवहार कान्छो छोरालाई हुन नसक्ने भन्दै वाणिज्य बैंकलाई र अरुलाई गर्ने व्यवहार फरक हुने शिवाकोटीले बताए ।

‘ १ जिल्ले र ३ जिल्ले विकास बैंक र फाइनान्स कम्पनीको पनि अधिकार छ,हामीले साना मुसालाई पनि अधिकार दिनुपर्छ संरक्षण गर्नुपर्छ, वाणिज्य बैंक भनेको हात्ति हो सो अनुसारको व्यवहार छ,राष्ट्रिय स्तरका विकास बैंकलाई घोडाको व्यवहार गरेका छौ’,शिवाकोटीले भने ।

‘विदेशबाट वाणिज्य बैंकलाई पुँजी ल्याउन दिने नीति भरखर आएको छ,बैंकहरुले कोर क्यापिटलको सतप्रतिशत पैसा ल्याउन दिनुपर्ने सुझाव दिएका छन्,यो कसरी कार्यान्वयन हुन्छ त्यसपछि थप निर्णय लिने हो’,उनले भने ।

विगतमा यस्तै विदेशबाट आउने पुँजीको कारण एशियन क्राइसेस आएको भन्दै डेपुटी गभर्नर शिवाकोटीले यसमा थप छलफल गर्न सकिने बताए ।


क्लिकमान्डु