
काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी साधन बिक्रीसँगै ब्याट्री उत्पादन गर्दै आएको एसियन ब्याट्रिजले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ६५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले सन् २०२५ मा ६२ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा ५१ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ४३ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको कारोबार गत आवमा २० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले आफ्नो वितरण नेटवर्क र क्षमता विस्तारले गर्दा कारोबार बढेको बताएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा कुल आम्दानीको १२.४२ प्रतिशत छ । सन् २०२४ मा यस्तो नाफा १२ प्रतिशत थियो । यस अवधिमा कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । गत आवमा ३ करोड ५० लाख रुपैयाँ कुल नगद सञ्चिति रहेकामा चालू आवको ११ महिनाको अवधिमा ३ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको पुँजी संरचना सहज अवस्थामा रहेको छ । गत आवसम्ममा कम्पनीको ऋण–इक्विटी अनुपात ०.३३ गुणा र समग्र गियरिङ अनुपात ०.६४ गुणामात्र छ । सन् २०२४ मा यस्ता अनुपात क्रमशः ०.८२ गुणा र १.६३ गुणा थिए । गत आवमा ऋण–इक्विटी अनुपात र समग्र गियरिङ अनुपात दुवैमा उल्लेख्य सुधार आएको छ ।
कम्पनीअनुसार गत आवमा ३० करोड रुपैयाँ नयाँ इक्विटी प्रवाह भएपछि कम्पनीको ट्यान्जिबल नेटवर्थमा भएको वृद्धिका कारण भएको हो । चालु आवको ११ महिनाको अवधिमा पनि अग्रिम रकमसहित १२ करोड ८० लाख रुपैयाँ थप इक्विटी प्रवाह भएको छ । कम्पनीले पुँजीगत खर्चको वित्तीय व्यवस्थापनका लागि इक्विटी लगानी गर्दै आएका छन् ।
कम्पनीको ब्याज कवरेज अनुपात गत आवमा २.८६ गुणा रहेको छ । सन् २०२४ मा १.७७ गुणा थियो । त्यस्तै, कम्पनीको कुल ऋण/कुल नगद सञ्चितिमा सुधार आई गत आवमा ८.६१ गुणा रहेको छ । सन् २०२४ मा १२.८३ गुणा थियो ।
कम्पनीले हाल पूर्ण स्वचालित भल्भ रेगुलेटेड एसिड ब्याट्री उत्पादन प्लान्ट निर्माण गरिरहेको छ । कम्पनीले उक्त प्लान्ट निर्माण गर्न ५३ करोड रुपैयाँ लागत अनुमान गरेको छ । कम्पनीले प्लान्ट निर्माणका लागि ऋण–इक्विट अनुपात ६६ः३४ रहने गरी लगानी गर्नेछ ।
चालु आवको ११ महिनाको अवधिमा ३० प्रतिशत वित्तीय प्रगति गरिसकेको छ । उक्त प्लान्ट २०२७ मा सञ्चालनमा आउने अपेक्षा गरेको छ ।
सन् २०१२ मा स्थापना भएको कम्पनी सन् २०२५ को जुलाईमा पब्लिक कम्पनीको रुपमा परिणत भएको छ । कम्पनीले अटोमोटिभ, विद्युतीय गाडी र टब्लर ब्याट्रिज बिक्री वितरण गर्दै आएको छ । विराटनगरमा युनिट रहेको कम्पनीले वार्षिक ५४ मेट्रिक टन सिसा तथा लिड अक्साइड उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीको देशभर ४ सय डिलर र १० वटा शाखा छन् । कम्पनीको अध्यक्ष सुरेश लोहनी हुन् ।






प्रतिक्रिया