
काठमाडौं । मनोकामना क्यापिटल इन्भेष्टमेन्टले एकै वर्ष पौने ५ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गरेको कारोबार विशेषगरी सूचीकृत धितोपत्रहरुको खरिद–बिक्रीबाट गरेको छ । कम्पनीले गत आवमा २.५८ सञ्चालन नाफा मार्जिन गरेको छ ।
कम्पनीले गत आवमा १२ करोड २० लाख रुपैयाँ सञ्चालन नाफा मार्जिन आर्जन गरेकोमा १० करोड ८० लाख रुपैयाँ ब्याज खर्च गरेको छ । जसमा कम्पनीको ब्याज कवरेज अनुपात १.१३ गुणा रहेको छ । साथै, कम्पनीले गत आवमा ०.३ प्रतिशत खुद नाफा गरेको छ । कम्पनीको कुल नगद सञ्चय १ करोड ४० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको पूँजी संरचना गत आवमा उच्च ऋणभारयुक्त रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपात ४.२० गुणा रहेको छ । कम्पनीले आफ्नो लगानीलाई आवश्यक पर्ने पूँजी पूर्ति गर्न उच्च कर्जामा निर्भरता रहेकाले गियरिङ अनुपात उच्च स्तरमा पुगेको पाइएको छ । गत आवसम्ममा लगानीको बजार मूल्य र कुल ऋणको अनुपात १.३७ गुणा रहेको छ । साथै, कम्पनीको दायित्व वहन क्षमता मध्यम स्तरको छ ।
सन् २०२४ को जुलाईमा स्थापना भएको कम्पनीले विशेषगरी द्धितीय बजारमा विभिन्न संस्थाका सुचिकृत सेयर तथा धितोपत्रहरुको खरिद–बिक्री गर्दै आएको छ । कम्पनीले आर्थिक क्षेत्रहरुमा पुँजी परिचालन तथा विभिन्न परियोजनाहरुलाई सहयोग पुर्याई आर्थिक विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । कम्पनीले नेपालको वित्तीय क्षेत्रमा अग्रणी संस्थाका रुपमा आफ्नो स्थान स्थापित गर्ने, बदलिँदो बजार परिस्थितिअनुसार आफूलाई बनाउने तथा दिगो वृद्धि सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
मनोकामना ग्रुपद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८५ करोड रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया