
काठमाडौं । गृह मन्त्री सुधन गुरुङको निर्देशनमा गृह मन्त्रालले देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिताका सम्बन्धमा विशेष निर्देशन जारी गरेको छ ।
देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र स्वच्छता कमजोर रहेको जनगुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।
चितवनको एक होटलमा गृहमन्त्री सुधन गुरुङले मगाएको अम्लेटमा माछाको काडा पाइएपछि उनले अन्य होटल तथा रेष्टुराँमा पनि सक्रियताका साथ अनुगमन र कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्रालयले जारी गरेको परिपत्रमा नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै यसमा कुनै सम्झौता नगर्न स्पष्ट पारिएको छ ।
होटल तथा रेस्टुरेन्टहरूले प्रदान गर्ने खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न भनिएको छ ।
अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने जो-कोहीलाई कानुन बमोजिम कडा कारबाही गर्न निर्देशन दिइएको छ ।
आम नागरिकका गुनासाहरू सहजै दर्ता गर्नका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तत्कालै हटलाइन वा ‘द्रुत सेवा डेस्क’ स्थापना गर्न भनिएको छ । नागरिकस्तरबाट प्राप्त हुने गुनासोलाई ‘उच्च प्राथमिकता’ मा राखी तत्काल समाधान गर्न मन्त्रालयको निर्देशन छ ।
त्यस्तै स-साना विषयमा पनि नागरिकहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको अन्त्य गर्न जिल्ला प्रशासनलाई जिम्मेवार बनाइएको छ । ‘स्थानीयस्तरका गुनासा र समस्याहरू जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा समाधान गरिनुपर्छ,’ पत्रमा भनिएको छ, ‘जिल्लाको कार्यसम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा यसमा कुनै पनि प्रकारको अक्षमता वा उदासीनता क्षम्य हुने छैन ।’
गृह मन्त्रालयले यो निर्देशनको अक्षरशः पालना र दृढ कार्यान्वयनको अपेक्षा गरेको छ । नागरिक केन्द्रित शासन व्यवस्थाको साख जोगाउन र बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।






प्रतिक्रिया