फिफा विश्वकप २०२६ को गोल्डेन बुट अवार्डमा एमबाप्पे र मेस्सीबीच कडा प्रतिस्पर्धा


एजेन्सी । ‘अब तिम्रो पालो, लियोनल ।’ फिफा विश्वकप २०२६ मा फ्रान्सको पछिल्लो सानदार जितपछि केलियन एमबाप्पेले लियोनल मेस्सीलाई यही भनेको हुनुपर्छ भन्ने फुटबल फ्यानहरूको अनुमान छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने होडबाजी नकआउट चरण सुरु भएसँगै निकै तातिएको छ ।

अर्जेन्टिनी दिग्गज मेस्सी र फ्रान्सेली सुपरस्टार एमबाप्पे तालिकाको शीर्ष स्थानका लागि भिडिरहेका छन् भने नर्वेका एर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियर उनीहरूको निकै नजिक छन् ।

फिफा गोल्डेन बुट अवार्ड के हो र यो कसरी तय गरिन्छ?

फिफा गोल्डेन बुट प्रतियोगिताको अन्त्यमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ ।

सन् २०२२ को कतार विश्वकपमा आठ गोल गरेका फ्रान्सका एमबाप्पे यसका वर्तमान विजेता हुन् ।

यदि प्रतियोगिताको अन्त्यमा दुई खेलाडीको गोल संख्या बराबर भएमा, सबैभन्दा धेरै ‘असिस्ट’ (गोल गर्न सहयोग) गर्ने खेलाडीले यो अवार्ड जित्नेछन् ।

यदि असिस्ट संख्याबाट पनि विजेता छुट्याउन सकिएन भने, सबैभन्दा कम समय खेलेर गोल र असिस्ट गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ ।

विश्वकप २०२६ का शीर्ष गोलकर्ताहरू को-को हुन्?
केलियन एमबाप्पे (फ्रान्स)– ६ गोल, २ असिस्ट
लियोनल मेस्सी (अर्जेन्टिना)– ६ गोल, ० असिस्ट
एर्लिङ हालान्ड (नर्वे)– ५ गोल, ० असिस्ट
ओस्मान डेम्बेले (फ्रान्स)– ४ गोल, २ असिस्ट
भिनिसियस जुनियर (ब्राजिल)– ४ गोल, १ असिस्ट

हाल विश्वकप खेलिरहेका खेलाडीमध्ये कसले कति पटक गोल्डेन बुट जितेका छन् ?

एमबाप्पे, ह्यारी केन र जेम्स रोड्रिग्वेज दोस्रो पटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने दाउमा छन् ।

इङ्गल्याण्डका केनले २०१८ को रुस विश्वकपमा यो अवार्ड जितेका थिए भने कोलम्बियाका रोड्रिग्वेज २०१४ को ब्राजिल विश्वकपमा शीर्ष गोलकर्ता बनेका थिए ।

के क्रिस्टियानो रोनाल्डोले यस वर्ष गोल्डेन बुट जित्न सक्छन् ?

उनले जित्न सक्छन्, तर त्यसका लागि उनले छिट्टै थप गोलहरू गर्नुपर्ने हुन्छ । यी पोर्चुगिज भेट्रान खेलाडीले यस प्रतियोगितामा दुई गोल गरेका छन्, जुन दुवै उज्वेकिस्तान विरुद्धको ५-० को जितमा समूह चरणमा आएका थिए । पोर्चुगल प्रतियोगिताको अन्तिम चरणसम्म पुग्ने लक्ष्यमा छ र उनीहरू आफ्नो कप्तानले गोल संख्या थपुन् भन्ने चाहन्छन् ।

एउटै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हुन् ?

सन् १९५८ को स्वीडेन विश्वकपमा अविश्वसनीय १३ गोल गरेका फ्रान्सेली फरवार्ड जस्ट फन्टेनको नाममा यो कीर्तिमान छ ।

यसैगरी, स्यान्डर कोक्सिसले १९५४ को स्विजरल्याण्ड विश्वकपमा ११ गोल गरेका थिए भने पश्चिम जर्मनीका गर्ड मुलरले १९७० को मेक्सिको विश्वकपमा १० गोल गरेका थिए ।

फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हुन् ?
लियोनल मेस्सी (अर्जेन्टिना) – १९
केलियन एमबाप्पे (फ्रान्स) – १८
मिरोस्लाभ क्लोज (जर्मनी)– १६
रोनाल्डो (ब्राजिल)– १५
गर्ड मुलर (पश्चिम जर्मनी)– १४