ओशो वर्ल्ड ट्राभल नेपालले एकै वर्ष गर्यो १० अर्ब रुपैयाँको कारोबार


काठमाडौं । ओशो वर्ल्ड ट्राभल नेपालले एकै वर्ष करिब १० अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९ अर्ब ९३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ९ अर्ब ४४ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ७ अर्ब ८७ करोड रुपैयाँ, सन् २०२२ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको वित्तीय जोखिम प्रोफाइल अझै पनि सामान्य स्तरको रहेको छ । कम्पनीको न्यून सञ्चालन नाफा मार्जिन तथा कार्यशील पूँजी आवश्यकताहरु पूरा गर्न उच्च बैंक ऋणमा निर्भर रहेको छ ।

उद्योगमा रहेको उच्च प्रतिस्पर्धा तथा बजारको विअण्डित संरचनाका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन गत आवमा ०.५ प्रतिशतको न्यून स्तरमा सीमित छ । कम्पनीको पूँँजी संरचना उच्च ऋणयुक्त रहेको छ ।

गत आवसम्ममा कम्पनीको कुल ऋण/ट्यान्जिबल नेटवर्थ अनुपात २.७ गुणा तथा बाह्य दायित्व/ट्यान्जिबल नेट वर्थ ५.७ गुणा रहेको छ ।

सञ्चालन नाफाको तुलनामा कम्पनीको ऋणको स्तर उच्च रहेकाले गत आवमा कुल ऋण/सञ्चालन नाफा मार्जिन ७.१ गुणा पुगेको थियो । उक्त अवधिमा कर्जाको ब्याजदर घटेको लाभ प्राप्त भए पनि कम्पनीको ऋण सेवा कवरेज क्षमता अनुपात गत आवमा १.१ गुणा कायम रहेको छ ।

सन् १९९१ मा स्थापना भएको कम्पनीले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री एजेन्सीको रुपमा सञ्चालनामा रहेको छ । कम्पनी अन्तर्राष्ट्रिय हवाई यातायातबाट मान्यता प्राप्त एजेन्ट हो ।

कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालित व्यवसाय हो । कम्पनीको ९० प्रतिशत स्वामित्व प्रबन्ध निर्देशक श्यामराज थपलियाको छ भने बाँकी १० प्रतिशत स्वामित्व उनका श्रीमती राखी थपलियाको रहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २० करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १३ करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७ करोड रुपैयाँको रेटिङ गराएको हो ।