शंकर समूहका एक दर्जन कम्पनी रेटिङको ‘नेगेटिभ वाच’बाट हटे

हटाउनुको यी हुन् मुख्य ३ कारण

203
Shares

काठमाडौं । रेटिङ एजेन्सी इन्फोमेरिक्सले शंकर समूहको लगानी भएका भएका कम्पनीहरूको क्रेडिट रेटिङलाई ‘नेगेटिभ वाच’ बाट हटाएको छ । व्यावसायिक घराना शंकर समूहका मूख्य लगानीकर्ताहरु शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवाल लगायतलाई एकसाथ ४ वटा कसुरमा अनुसन्धान भई अभियोजन दर्ता भएपछि रेटिङ एजेन्सीले सो समूहको लगानी रहेका कम्पनीहरुको क्रेडिट रेटिङलाई ‘नेगेटिभ वाच’ मा राखेको थियो ।

यसरी नेगेटिभ वाचमा राखेको १८ कम्पनीमध्ये १३ कम्पनी १० दिनमा नै ‘नेगेटिभ वाच’ को सूचीबाट हटेका छन् ।

नेगेटिभ वाचमा राखेको कम्पनीको प्रबर्द्धक तथा सञ्चालकहरूमाथि विभिन्न वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भई अदालतमा अभियोजन दर्ता भएको थियो । सो मुद्दामाथि थुनछेक बहसपछि सुलभ अग्रवाल र दीपक भट्ट भने पुर्पक्षका लागि कारागार चलान भएका छन् । यसरी शंकर समूहका विभिन्न कम्पनीका मुख्य प्रवर्द्धकमाथि नै आर्थिक बैंकिङ कसुर, बीमा ऐन अन्तर्गतको कसुर, धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुर, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा चलेसँगै उनीहरुको लगानी रहेका कम्पनीहरुलाई इन्फोमेरिक्सले ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखेको थियो ।

इन्फोमेरिक्सले नेगेटिभ वाचमा राखेका १८ मध्ये १५ कम्पनीले १ खर्ब ५ अर्ब रूपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएका थिए । यसैगरी ३ कम्पनीको इस्युअर रेटिङ पनि नेगेटिभ इम्प्लिकेसनमा परेको थियो ।

गत जेठ २८ मा सरकारी वकिल कार्यालयले धितोपत्र, बीमा, बैंकिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विभिन्न व्यावसायिक घरानाका व्यक्तिहरूमाथि अदालतमा मुद्दा दायर गरेका थिए । काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष अदालतमा दर्ता गरिएका यी मुद्दाहरूमा कुल १६७ जनालाई अभियुक्त बनाइएको थियो । जसमध्ये धितोपत्रतर्फ ८१ जना, बीमातर्फ ४२ जना, सम्पत्ति शुद्धीकरणमा ३९ जना र बैंकिङ कसुरमा ५ जना प्रतिवादी रहेका छन् ।

नेगेटिभ वाचमा परेका अधिकांश कम्पनीहरू व्यवसायि शंकर ग्रुप सम्बद्ध कम्पनीहरु थिए । ती कम्पनीमा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभसहित शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवालसमेतको लगानी रहेको छ ।

इन्फोमेरिक्सले जगदम्बा स्टिलको ३३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको ऋण सुविधालाई निगरानीमा राखेको थियो । यस्तै जगदम्बा अटो ग्रुपको १ अर्ब ९१ करोड रुपैयाँ, जगदम्बा हस्पिटालिटी ग्रुपको ५ अर्ब ३० करोड रुपैयाँ, जगदम्बा मोटर्सको ५ अर्ब ९७ करोड रुपैयाँको क्रेडिट रेटिङलाई नेगेटिभ वाचमा राखेको थियो ।

जगदम्बा मोबाइल्सको ९० करोड रुपैयाँ, जगदम्बा हायर पर्चेजको १ अर्ब ७२ करोड, जगदम्बा फ्लोर एन्ड एग्रोको १ अर्ब ५४ करोड, गनपति वनस्पतिको ६ अर्ब ४८ करोड, लिट्मस इन्डस्ट्रिजको ८ अर्ब ६७ करोड रुपैयाँको क्रेडिट रेटिङ नेगेटिभ वाचमा राखिएको छ ।

सौर्य सिमेन्ट इन्डस्ट्रिजको १४ अर्ब ८७ करोड र रिद्धि सिमेन्ट इन्डस्ट्रिजको ११ अर्ब ९३ करोड रुपैयाँ बराबरको ऋण रेटिङ पनि ‘नेगेटिभ वाच’ मा परेको थियो ।

यस्तै टेलिटक प्रालिको ५७ अर्ब, टेली डाइरेक्ट प्रालिको २ अर्ब ५० करोड, रामजानकी हाइड्रोपावरको ५ अर्ब २५ करोड रुपैयाँ र वेदांशी इन्फ्रास्ट्रक्चर लिमिटेडको ३ अर्ब ५० करोड रुपैयाँ क्रेडिट रेटिङको ‘नेगेटिभ वाचलिस्ट’मा परेको थियो । हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर र व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भलाई पनि इन्फोमेरिक्सले नेगेटिभ इम्प्लिकेसनमा राखेको थियो ।

यी १८ कम्पनीमध्ये टेली डाइरेक्ट प्रालि, लिट्मस इन्डस्ट्रिज, रिद्धि सिमेन्ट इन्डस्ट्रिज, जगदम्बा स्टिलको क्रेडिट रेटिङलाई इन्फोमेरिक्सले ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’बाट हटाएको छ । त्यस्तै जगदम्बा मोर्टस प्रालि, जगदम्बा मोबाइल प्रालि, जगदम्बा हायर पर्चेज लिमिटेड, जगदम्बा अटो ग्रुप प्रालि, टेलिटक प्रालिलाई पनि ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’बाट हटाएइको हो ।

यस्तै रामजानकी हाइड्रोपावर, गनपति वनस्पति, जगदम्बा हस्पिटालिटिको रेटिङ पनि ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’बाट हटेको छ । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भलाई पनि इन्फोमेरिक्सले नेगेटिभ इम्प्लिकेसनबाट हटाएको छ ।

रेटिङ एजेन्सीका अनुसार सम्बन्धित कम्पनीका प्रबर्द्धक वा सञ्चालकहरूमाथि लागेको गम्भीर आरोप र उनीहरूको गिरफ्तारीले कम्पनीको वित्तीय, सञ्चालन र प्रतिष्ठामा पर्ने असरबारे अन्यौलता सिर्जना भएपछि ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ मा राखेको थियो ।

विशेषगरी कम्पनीहरूको तरलता, व्यवस्थापकीय निरन्तरता र व्यावसायिक सञ्चालनमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’ मा राख्ने निर्णय लिइएको इन्फोमेरिक्सले जनाएको थियो । तर, १० दिनमै इन्फोमेरिक्स नेपालले उक्त सूचीबाट १३ कम्पनीको नाम हटाउँदै ती कम्पनीहरुको व्यावसायिक सञ्चालन सामान्य अवस्थामा रहेको, वित्तीय अवस्थामा कुनै ठूलो प्रतिकूल परिवर्तन नदेखिएको र ऋणको सावाँ–ब्याज भुक्तानी समयमै भइरहेको उल्लेख गरेको छ ।

ती कम्पनीका व्यवस्थापनले दिएको आधिकारिक जानकारी र वित्तीय विवरणहरूको विश्लेषणका आधारमा रेटिङ एजेन्सी उक्त निर्णय लिएको जनाएको छ । भविष्यमा पनि कम्पनीको वित्तीय कार्यसम्पादन, ऋण तिर्ने क्षमता र क्रेडिट जोखिम प्रोफाइललाई निरन्तर अनुगमन गर्ने इन्फोमेरिक्स नेपाल जनाएको छ ।

हालको कानुनी प्रक्रिया, कम्पनीको सञ्चालक समितिमा हुन सक्ने परिवर्तन र मुख्य व्यवस्थापकीय कर्मचारीहरूको कार्यसम्पादनलाई नजिकबाट नियाल्ने इन्फोमेरिक्स नेपालले जनाएको छ । मुद्दाको अन्तिम फैसला वा अनुसन्धानको प्रगति अनुसार कम्पनीहरूको रेटिङमा थप हेरफेर हुन सक्ने इन्फोमेरिक्स नेपालले जनाएको छ ।