
काठमाडौं । वन्डर्स इनर्जीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले प्रवर्द्धन गरिरहेको ९ मेगावाट क्षमताको ‘खिम्ती ध्वाँङ् साना जलविद्युत आयोजना’ को प्रगति र आगामी योजनाबारे साधारणसभामा विस्तृत छलफल गरिएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले आयोजनाको निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको र २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार आयोजनाका लागि अत्यावश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति गत वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय भइसकेको छ, जसले आयोजना निर्माणको बाटो थप सहज बनाएको छ ।
कूल १ अर्ब ९० करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाका लागि वित्तीय व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । कुल लागतमध्ये १२५ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबि बैंकसँगको समझदारी अन्तिम चरणमा पुगेको कार्यकारी संचालक दुलालले बताइ ।
त्यस्तै, बाँकी ६५ करोड रुपैयाँ स्वपुँजी मध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी ३० करोड रुपैयाँ आगामी असोज महिनाभित्र संकलन गरिसक्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
साधारणसभाले कम्पनीको भविष्यको मार्गचित्र तय गर्दै महत्त्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ । सभाले कम्पनीको जारी पुँजी वृद्धि गरेर १०० करोड (१ अर्ब) रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
जसमध्ये ७० करोड रुपैयाँ स्वपुँजी रहने र बाँकी ३० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने निर्णय सभाले सर्वसम्मत पारित गरेको छ । साथै, आयोजनाका लागि आवश्यक बैंक ऋण लिनका लागि साधारणसभाले कम्पनीको संचालक समितिलाई पूर्ण अख्तियारी समेत प्रदान गरेको छ ।
९ मेगावाटको खिम्ती ध्वाँङ् जलविद्युत आयोजना समयमै सम्पन्न भएमा यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय प्रसारण लाइनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया