युनाइटेड सिमेन्ट्स प्रिमियर लिग सम्पन्न, गोदावरी विजेता


काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको युनाइटेड सिमेन्ट्सले आफ्ना डिलरहरुलाई लक्षित गर्दै ‘युनाइटेड सिमेन्ट्स प्रिमियर लिग’को आयोजना गरेको छ । काठमाडौंको पहेंलो पुलस्थित धन्यन्तरी फुटसलमा असार १३ गते उक्त प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको हो ।

यस प्रतियोगिताको औपचारिक उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक विकास दुगडले गरेका थिए । उपत्यकाभरका डिलरहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगितामा कुल १६ वटा टोलीहरूले ३ वर्षिय रनिङ ट्रफी, नगद पुरस्कार तथा च्याम्पियनस् ट्रफीका लागी प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक विकास दुगडले सिमेन्ट, व्यापार र दिनहुँको दौडधुपबाट केही समय निकालेर शारीरिक स्वास्थ्य र मनोरञ्जनमा ध्यान दिनु आवश्यक रहेको बताए । विश्वभर चलिरहेको ‘फिफा विश्वकप’ को माहोललाई स्मरण गर्दै उनले मैदानमा देखिने ऊर्जा, टिमवर्क र उत्साहले डिलर र कम्पनीबीचको पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । ‘जसरी मैदानमा उत्कृष्ट प्रदर्शन गर्न एउटा बलियो र एकजुट टिम चाहिन्छ, त्यसरी नै बलियो निर्माणको लागि युनाइटेड सिमेन्ट्स सधैं तपाईंहरूको साथमा छ,’ उनले भने ।

प्रतियोगिताको उपाधि गोदावरी टोलीले जित्न सफल भएको छ । उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको गोदावरीलाई ग्रुपका भाइस च्येरम्यान नरेश दुगड तथा म्यानेजिङ डिरेक्टर कुमुद दुगडले विजेता ट्रफी का साथै रनिङ ट्रफी तथा जनही ७० हजार रूपैयाँको चेक हस्तान्तरण गरे । त्यसैगरी, न्हू पला: ले उपविजेताको स्थान हासिल गरेको थियो। न्हू पला: लाई ग्रुपका म्यनेजिङ डिरेक्टरहरू विकास दुगड तथा कुमुद दुगडले उपविजेता ट्रफी का साथै जनही ३५ हजार रूपैयाँको चेक हस्तान्तरण गरे ।

कार्यक्रमको समापन समारोहमा मन्तव्य राख्दै केएल दुगड ग्रुपका म्यनेजिङ डिरेक्टर कुमुद दुगडले खेलमा हार-जितभन्दा पनि खेलाडीहरूले मैदानमा देखाएको भाइचारा, मित्रता र खेलको भावना कम्पनीको संस्कार सुहाउँदो रहेको भन्दै खुसी व्यक्त गरे । मैदानमा देखिएको एकता र उत्साहलाई आगामी नयाँ आर्थिक वर्षमा व्यापार र कार्यक्षेत्रमा पनि सँगै लिएर जाने उहाँले पूर्ण विश्वास व्यक्त गरे ।

यो युनाइटेड सिमेन्ट्स प्रिमियर लिगको पहिलो संस्करण हो ।