माथिल्लो डोल्पामा पहिलोपटक पुग्यो ४जी, ५जीको चर्चाबीच अझै ३ स्थानीय तह थ्रीजीमै

56
Shares

काठमाडौं । माथिल्लो डोल्पामा पहिलो पटक तीब्र गतिको मोबाइल ब्रोडब्याण्ड इन्टरनेट ४जी सेवा पुगेको छ । फाइभजी बहस सुरु हुँदा अझै तीन स्थानीय तह भने थ्रीजीमै सिमित छन् । नेपाल टेलिकमले देशका ७५० स्थानीय निकायहरूमा आफ्नो फोरजी सेवा विस्तार गर्न सफल भएको छ।

पछिल्लो पटक डोल्पा जिल्लाको दुर्गम छार्का ताङसोङ गाउँपालिकामा सेवा सुरु गरेसँगै टेलिकमले यो महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

टेलिकमका अनुसार गत जेठ ८ गतेदेखि छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरिएको छ। उक्त दुर्गम स्थानमा माइक्रोवेभ रेडियोमार्फत सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

यो माथिल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको पहिलो फोरजी साइट हो। योसँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायको संख्या ७५० पुगेको छ।

अब डोल्पा जिल्लाका डोल्पो बुद्ध गाउँपालिका, शे-फोक्सुण्डो गाउँपालिक र मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकामा मात्र फोरजी सेवा पुग्न बाँकी छ। यी तीनवटा बाँकी रहेका स्थानीय निकायहरूमा पनि निकट भविष्यमै सेवा विस्तार गर्ने कार्यलाई टेलिकमले निरन्तरता दिने बताएको छ।

भौगोलिक रूपमा विकट र उच्च हिमाली भेगमा फोरजी सेवा विस्तार भएपछि स्थानीय बासिन्दा, सरकारी कार्यालय तथा त्यस क्षेत्रमा पुग्ने पर्यटकहरूलाई सञ्चार सम्पर्कमा सहज हुने विश्वास लिइएको छ।

Skip This