नाडा अध्यक्षका प्रत्यासीलाई प्रश्नः तपाईंलाई नै भोट किन ?



देशभर रहेका अटो व्यवसायीको छाता संगठन नेपाल अटोमोवाइल्स डिलर्स एसोशिएसन (नाडा) को नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । निर्वाचनमा  शम्भु दाहाल र राम कडेलले  अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । क्लिकमाण्डूले दुबै अध्यक्षका प्रत्यासीसँग तपाईंलाई नै भोट किन ? भनेर सोधेको थियो । उनीहरुसँग गरिएको कुराकानी जस्ताको त्यस्तैः

शम्भु दाहाल, नाडा अध्यक्षका प्रत्यासी

शम्भु दाहाललाई प्रश्न
तपाईंलाई नै भोट किन ?
मेराे उमेद्वारी टिमवर्क कै लागि हो । मलाई सिप्रदी, ज्योति, मोरङ अटोवर्क, गाेल्छालगायत अटोमोबाईल सम्बन्धी बुझेको संस्थाकाे समर्थन छ । हामीले एक अर्काको क्षमता राम्रोसँग बुझेका छौं । र, त्यसलाई संयोजन गरेर अगाडि बढ्छौं । समग्रमा भन्नुपर्दा राष्ट्रको व्यवसायको हकहितको लागि मेराे उम्मेदवारी हाे ।

नाडाको इतिहास लामो छ, हाम्रोमा गाडी बेच्ने र ल्याउने कुरामात्र भयो, नेपालमै गाडी उत्पादन गर्ने कुरा खासै उठाउनु भएन, गाडी बेच्ने मात्र नभएर उत्पादन गर्नेतर्फ तपाईंको के योजना हुन्छ ?

हाम्रो मुख्य प्रतिस्पर्धी भनेको छिमेकी राष्ट्र भारत नै हो । भारतमा उपलब्ध भएको सुविधाहरु जस्तै जग्गा, विजुली, पानी, स्थानकाे सुबिधा राम्राे छ। भारतमा जति खर्च लाग्छ त्यहि अनुसारको सुविधा प्राप्त भयो भने काम गर्न सकिन्छ । त्यत्ति त सुविधा हुनै पर्यो । व्यवसायीहरुलाई के को सुविधा भन्ने कुरा आउला । त्यो भनेको आधारभूत आवश्यकता हो । त्यस्तो कुरा उपलब्ध भएपछि उत्पादन नगर्ने भन्ने कुरा आउँदैन । दुईपाङग्रे गाडीहरु साथीहरुले उत्पादन गर्दै आउनु भएको छ ।

नेपालमा उत्पादन सुरू भएर बन्द भएका उदाहरणा छन्, हाम्रो प्रयास सफल भएका छैन नि?

त्यस्तो किसिमको वातावरण निर्माण हुँदा हामीले पहल गर्ने हो । अहिले नै हामीलाई गाडी उत्पादन गर्नका लागि यस्तो आधारभूत पूर्वाधार दिनु पर्यो भनेर मागी हाल्ने अवस्थामा छैनौं । सरकार आफ्नो आवश्यकता र विकासको काममा व्यस्त छ । सरकारको तर्फबाट पहल भयो भने  एसेम्बलिङ उद्योगहरु उत्पादनमा जाने हो । त्यसका लागि सरकार र व्यवसायीका तर्फबाट केही अफ्ठ्यारो-ग्राहो छ । ती चिजहरुलाई सहजीकरण गर्दै जाने हो भने समस्याको समाधान गर्ने काम हामीले गर्दै जान्छौं । ४, ५ वटा एसेम्बलिङ राख्नका लागि आवश्यक वातावरण, कानून निर्माण भयो भने हामीले नगर्नें भन्ने कुरा आउँदैन ।

सरकारले अटोमोबाईसलाई अनुउत्पादक क्षेत्रको रुपमा राखेको छ, राष्ट्र बैंकको नीति पनि त्यही छ, फेरि सवारी साधन अाधारभूत अावश्यकता हाे भन्ने भनाइ पनि छ, याे बिषय कसरी ब्यवस्थापन गर्नुहुन्छ ?

त्यसमा एक अर्कालाई बुझ्ने बुझाउने कुराहरु छन् । कतिपय चिजमा ३० लाख रुपैयाँसम्मको गाडीमा फाइनान्सिङ पनि कम गर्न सकिन्छ हाेला । राष्ट्रका जनताले सवारी साधन चड्न पाए भने राष्ट्रलाई पनि गर्वको कुरा हो । हाम्रा कम्पनीका कर्मचारीले गाडी चढ्यो भने हामीलाई गर्व लाग्छ ।

अलिकति धेरै कमाएका मान्छेलाई धेरै कर लगाउने भन्ने अर्कै कुरा हो । काम गर्न प्रोत्सान गरेको जस्तो हो । अनुत्पादन कोहि कसैले त्यस्तो भन्यो होला, सरकारको धारणा नै त्यस्तो किसिमको हुँदैन होला । केहि राजस्व भित्र्याउनका लागि राष्ट्र बैंकले फाइनान्सिङ स्ल्याब माैद्रिक नीति  अनुरुप समायोजन गरिराखेका हुन्छन् । समझाइबुझाई गर्ने र बुझाउने चिजहरु धेरै रहेका छन् ।

प्रदेश र स्थानीयतहमा छुट्टाछुट्टै कर छ, सरकारले पनि कर बढाइरहेको छ, यसलाई कसरी व्यवस्थापन गर्ने तर्फ तपाईको लबिङ के हुन्छ ?

कर त सबै ठाउँमा आवश्यक हुन्छ । एक अर्कालाई हित हुने कुरा गरौं भनेर सम्झाउने बुझाउने क्रियाकलाप छदैछन् । हाम्रो संगठनको संरचना पनि प्रादेशिक संरचनामा परिवर्तन हुन्छ । अहिले मैले ठ्याकै भन्न मिल्दैन । प्रदेश अनुसारको संगठनको प्रतिनिधित्व गर्ने गरी संरचना निर्माण हुन्छ । जसले प्रदेशस्तररमा लविङ गर्ने काम गर्छ । ७ वटा प्रदेशमा नाडाका प्रतिनिधित्व गर्ने संरचना निर्माण हुन सक्छ । त्यो हामीले सोचिरहेका छौं ।

पछिल्लो समयमा गाडी बिक्रेताहरुले धेरै नाफा कमाए भन्ने कुरा पनि आएको छ, यी लगायतका विषयमा उपभोक्ता र आफ्ना सदस्यहरुको हितमा कसरी काम गर्नुहुन्छ ?

सबै उत्पादनको एउटै खरिद मूल्य हुँदैन । एउटा उत्पादन उठाएर तपाईको यो खर्च छ भन्न मिल्दैन । र, सरकारको तर्फबाट पनि एउटा विचार आउनु पर्ने हुन्छ । जस्तो कि कर अर्थमन्त्रालयबाट कर चुक्ता भएपछि खर्च म मान्दिन भन्न कसरी मिल्ला ? यी विवादमा आउने कुराभन्दा पनि बुझाइका कुराहरु मात्र हुन् । कानूनहरुमा स्पष्टता नभएका कुराहरु छन् । यस्ता कुरामा हामीले सरकारसँग पहल गर्नेछौं । यस्तो कानून निर्माण गर्दा भारत, अमेरिका, युरोप, चीनमा कस्तो छ भनेर पनि हेर्नुपर्ने हुन्छ । अहिले कानूनमा केहि परिपक्कता आईसकेको छ । तर पनि नेपालमा कानूनमा अहिलेसम्म स्पष्ट आउन सकेको छैन । तर त्यसमा राज्य र व्यवसायीहरुले अडान लिनु हुँदैन । दुवैले सिक्ने कुरा हो । यसमा मिलेर अगाडि बढ्नु अवश्यक हुन्छ ।

राम कँडेल, नाडा अध्यक्षको प्रत्यासी

राम कडेललाई प्रश्न
तपाईंलाई नै भोट किन ?
नाडामा बृहत् परिवर्तन आवश्यक छ । यसलाई सबै क्षेत्रको बनाउनुपर्ने छ । अटोमोबाइल्ससँग सम्बन्धित सबै व्यवसायीको संस्था बनाउनको लागि मैले अध्यक्षमा उम्मेद्वारी दिएको हो ।

मैले हेटौंडा र काठमाडौंमा बसेर अटोमोबाइल्सको क्षेत्रमा काम गरे । यो क्षेत्रको वास्तविक समस्याको बारेमा जानकारी छ । मैले यसभन्दा अगाडि नाडामा उपाध्यक्षको रुपमा पनि काम गरेको हुँदा संस्थालाई अघि बढाउनका लागि अध्यक्षमा उम्मेद्वारी दिएको हो ।

नाडाको नेतृत्वमा ठूला व्यवसायीको भूमिका हुन्छ, तपाईं टक्कर दिन सक्नुहुन्छ ?

म कसैलाई टक्कर दिनको लागि आएको होइन । मेरो मर्म र उद्देश्य नाडामा सबै व्यवसायीलाई समेटेर लैजाने हो । सबै अटोमोबाइल्स, लुब्रिकेन्ट पार्टस, पेट्रोल पम्प सबै अटोमोबाइल क्षेत्रका व्यवसायीको छाता संगठन बनाउने हो ।

नेपालमा अटोमोबाइल्स क्षेत्र आयातमा आधारित भयो, तपाई अध्यक्षमा चुनिएमा यहाँ उत्पादन गर्न कस्तो भूमिका खेल्नुहुन्छ ?

अहिले अटोमोबाइल्स क्षेत्रमा धेरै कुराहरु आयात हुन्छन् । केही यहाँ उत्पादन पनि हुन्छन् । राज्यले यहाँ उत्पादन गर्ने वातावरण बनाएको खण्डमा गर्न सकिने पनि हुन्छ । यसमा म आफुले चुनिएपछि सबैसँगको छलफलमा निर्णय गर्छु ।

अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक रुपमा राज्यले लिएको छ, यसलाई कसरी उत्पादनमूलक बनाउने ?

राज्यले अहिलेसम्म अटोमोबाइल्स क्षेत्रलाई बिलासिताको क्षेत्रमा राखेको छ । यो बिलासिताको क्षेत्र होइन । यो देश विकासको क्षेत्र हो । देशभित्र सडकको विस्तार र विकास भएमा देश विकास हुन्छ । गाडी खरिद गर्ने बढ्ने भनेको आर्थिक अवस्था बलियो भएपछि हुने हो । यसलाई अनुत्पादक क्षेत्रमा राखेर मात्र हुँदैन । यो नीति परिवर्तन हुनुपर्छ ।

संघीयतामा गएपछि सवारीमा लाग्ने करहरु बढेको छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

देश संघियतामा गएपछि नाडाको संरचनालाई हामीले त्यो अनुसार परिवर्तन गर्नुपर्छ । त्यो अनुसारको संरचना भएपछि सबै सरकारसँग मिलेर काम गर्नको लागि सजिलो हुन्छ । हामीले सो अनुसार परिवर्तन गर्छु । कर लगायतका समस्यामा मिलेर छलफल गर्छौ ।

अटोमोबाइल्समा उपभोक्ता ठगिएको गुनासो आएको छ, नाडाका सदस्यहरुले राज्य कठोर भएको भन्ने बुझाई छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

अटोमोबाइल्सको विषयमा तथ्यगत कुराहरु बाहिर आएका छैनन् । व्यवसायीले नाफामात्र लिए भन्ने कुरा आएको छ । हामीलाई सो अनुसारको नाफा हुँदैन । म नेतृत्वमा आए भने सो कुरा बुझाउने प्रयत्न गर्छु ।


पुष्प दुलाल