रवि–बालेनलाई बाबुरामले भने: को ठूलो भनेर फुटाउन सक्नछन् सचेत रहनुस् !


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाले पछिल्लो ४ वर्षमा जनताको मन जितेर हासिल गरेको उपलब्धिलाई नेपाली इतिहासको नयाँ क्रान्तिका रूपमा लिनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै पूर्वप्रधानमन्त्री डा. भट्टराईले नयाँ पुस्ताले नेपाललाई सुशासन र स्वाधीनताको शिखरमा पुर्‍याउनुपर्ने बताए ।

उनले देशको जटिल भू-राजनीति र भ्रष्टाचारले जकडिएको राज्य संयन्त्र रहेको भन्दै चुनावमा ‘चुपचाप घण्टी चाप’ भन्ने नारा बदलेर अब रास्वपा ‘चुपचाप सुशासन र विकास’ भन्ने नारासहित अगाडि बढ्नुपर्ने बताए ।

उनले महाधिवेशन नीति तथा कार्यक्रमलाई स्पष्टता दिने र नेतृत्व चयन गर्ने स्थान भएको भन्दै ५ वर्षको उपयुक्त कार्यक्रम तय गर्न पनि शुभकामना दिए ।

नयाँ शक्तिको रूपमा उदय हुँदा वैचारिक रूपमा स्पष्टता हुन आवश्यक रहेको भन्दै यो नेतृत्वले ५ वर्षको मात्र नभई १०-१५ वर्षको कार्यकाल पूरा गर्नुपर्ने उनले बताए ।

उनले ‘रवि ठूलो कि बालेन ठूलो’ भनेर (कसैले) खेल्न सक्ने भन्दै त्यसमा सचेत रहन रास्वपाका नेता रवि लामिछाने र बालेन शाहको ध्यानाकर्षण गराए ।