बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा

182
Shares

काठमाडौं । सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच-फाइभ एन-वान) संक्रमण विषय राष्ट्रिय प्रकृति संरक्षण कोषको  केन्द्रीय कार्यालयलाई समयमै लिखित जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखानाका प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा लापरबाही गरेको भन्दै प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । कोषले प्रशासन प्रमुख हरिविक्रम सिंहको संयोजकत्वमा प्रजाती विभाग प्रमुख रचना शाह र संरक्षित क्षेत्र विभाग डा. मधु क्षेत्री र आर्थिक प्रमुख विदुर पोखरेल सदस्य रहने गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

साहलाई जिम्मेवारीबाट हटाइए सँगै चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ ।

पशु सेवा विभागमा गरिएको नमुना परीक्षणको रिपोर्ट बिहीबार साँझ आएसँगै चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएको हो । चिडियाखानाका अनुसार केही दिनअघि देखि नै ८ देखि १० वटा पन्छी र जनावर मरेका थिए । संक्रमणका कारण चिडियाखानामा रहेका बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु पुष्टि भएको छ ।

हालै कीर्तिपुर र टौदहमा बर्ड फ्लुका कारण मरेका कागहरूबाट चिडियाखानाका जीवजन्तुमा संक्रमण सरेको अनुमान गरिएको छ ।

इन्जिनियरिङ पृष्ठभूमिका साहलाई सिनियर कर्मचारी र विषय विज्ञहरूलाई पन्छाएर तत्कालीन सदस्य सचिव नरेश सुवेदीको तोकआदेशमा चिडियाखाना प्रमुख बनाइएको भन्दै यसअघि नै विवाद हुँदै आएको थियो । वन्यजन्तुको सुरक्षा र व्यवस्थापनमा संवेदनशील नभई राजनीति गर्ने गरेको आरोप खेप्दै आएको छ ।

साहको कार्यकालमा केही समयअघि चिडियाखानामा रेड पाण्डा चोरीको प्रयास समेत भएको थियो । यस्तै, दुई हप्ताअघि मात्रै चिडियाखानामा ल्याइएको एउटा रेड पाण्डा मरेको थियो । यस विषयमा पनि छानबिन भइरहेको स्रोतले बतायो । यी घटनाहरूबारे बेलैमा जानकारी नगराएका कारण कोषले उनीमाथि कडा कदम चालेको हो ।

Skip This