हेफरबाट धादिङका चार सेलिब्रेटी उत्कृष्ट कृषक दम्पती पुरस्कृत


काठमाडौं । धादिङका चार उत्कृष्ट कृषक दम्पतीलाई जनही ५० हजार रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरिएको छ ।

बुधबार धादिङमा सम्पन्न ‘धादिङ कृषि उद्यम गतिवर्धक पहल’ को अन्तिम चरणमा हेफर इन्टरनेशनल नेपालले उनीहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने कृषक दम्पतीहरूमा रोशिका गुरुङ र प्रमोद गुरुङ, रामकुमार श्रेष्ठ र युकुमारी श्रेष्ठ, बुद्धिप्रसाद बुरालकोटी र कृष्णकुमारी बुरालकोटी तथा बिमला कोइराला र पूर्णप्रसाद कोइराला रहेका छन् ।

यी उद्यमीहरूलाई उनीहरूको उत्कृष्ट व्यावसायिक योजना, नवीनता र कृषिप्रतिको समर्पणका आधारमा छनोट गरिएको हो ।

णमा हेफर इन्टरनेशनल नेपालका अनुसार नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकासँगको साझेदारी तथा हेफर इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सञ्चालित यो कार्यक्रममा १,५०० भन्दा बढी कृषकहरू सहभागी भएका थिए । यो किसानबाट ६० जना छनौट गरिएको थियो । त्यसमध्येबाट पनि विभिन्न प्रक्रियामार्फत २५ जना छनौट भएका थिए ।

मूल्याँकन समितिमा रहेका हेफर, काठमाडौं विश्वविद्याल, ग्लोवल आईएमई बैंक र निलकण्ठ नगरपालिकाको प्रतिनिधी सम्मिलित टोलीले सुधारिएको कृषि अभ्यास, प्रत्यक्ष बजार पहुँच, आय बृद्धि, कृषि उद्यमी, जमिन भाडामा लिएर कृषि, टनेल खेती र बैंक कर्जामा पहुँच, विभिन्न चरणको कडा प्रतिस्र्पधा, तालिम र स्थलगत अनुगमनलगायतको आधारमा २५ जनाबाट १० जना किसान दम्पति छनौंट गरेको थियो ।

छनोट प्रक्रियामा किसानको कामप्रतिको इच्छाशक्ति, क्षमता, नयाँपन र उपलब्ध स्रोतको उपयोगलाई मुख्य आधार मानिएको थियो ।

अन्तिम चरणमा पुगेका १० जना उद्यमीहरूले लगानीकर्ता र वित्तीय संस्थाहरू सामु आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए । यो १० कृषि उद्यमीबाट प्रस्तुतीको आधारमा तीन उत्कृष्ट कृषि उद्यमी दम्पतिलाई ५० हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसबाहेक बिमला कोइराला र पूर्णप्रसाद कोइराला दम्पतिलाई पनि उत्कृष्ट प्रस्तुतिकरणका कारण नगद ५० हजार र सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।

गायक र कलाकारहरूले ‘नेपाल आइडल’ जस्ता मञ्चबाट पाउने चर्चा र सम्मान किसानले किन नपाउने ? यही प्रश्नको उत्तर खोज्दै यो अभियान सुरु गरिएको थियो । कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि यसलाई हेर्ने दृष्टिकोण अझै व्यावसायिक हुन सकेको छैन ।

यही वास्तविकतालाई चिर्दै किसानलाई केवल ‘उत्पादक’ मात्र नभई सफल ‘उद्यमी’ र सम्मानित व्यक्तित्वको रूपमा चिनाउने यस पहलको मुख्य उद्देश्य रहेको छ ।

हेफर इन्टरनेशनल नेपालले ‘कृषक व्यावसायिक पाठशाला’ मार्फत किसानहरूलाई व्यवसाय कसरी गर्ने, बजार कसरी खोज्ने र नाफा–घाटाको हिसाब कसरी राख्ने भन्ने प्रशिक्षित गरेको थियो ।

यो कार्यक्रमपछि धादिङका किसानहरूमा ठूलो परिवर्तन आएको छ । धेरैले जग्गा भाडामा लिएर व्यावसायिक टनेल खेती सुरु गरेका छन् भने बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्ने आत्मविश्वास समेत जुटाएका छन् ।

छनोट भएका कृषकहरूले स्कुल र कलेजहरूमा पुगेर विद्यार्थीहरूलाई आफ्ना सफलताका कथा सुनाएका थिए, जसले कृषिमा भविष्य खोजिरहेका युवाहरूलाई थप प्रेरित गरेको छ ।

यो पुरस्कार वितरणले धादिङमा व्यावसायिक कृषिको नयाँ युगको सुरुवात भएको आयोजकले जनाएको छ । कृषिको रूपान्तरणका लागि पैसा र प्रविधि मात्र पर्याप्त छैन, किसानलाई सामाजिक सम्मान र उद्यमशील सोचको खाँचो छ भन्ने यो कार्यक्रमले पुष्टि गरेको छ ।

एक्सन नेपालको सहजीकरणमा सम्पन्न यो कार्यक्रमले धादिङका किसानलाई बजारसँग जोड्न र उनीहरूको जीवनस्तर उकास्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।