गोल्छाको २ कम्पनीले ९ महिनामै गरे गत वर्षभन्दा बढी कारोबार, कुन कम्पनीको अवस्था कस्तो ?


काठमाडौं । व्यवसायी शेखर गोल्छाको स्वामित्व रहेको दुई कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा गत वर्षभन्दा बढी कारोबार गरेको छ ।

दुई कम्पनीको गत आवको कारोबार र चालु आवको ९ महिनाको कारोबार तुलनामा बढी कारोबार भएको देखिएको हो ।
गोल्छा ग्रुपद्वारा सञ्चालित दुई कम्पनीका कारोबार गत आवको तुलनामा चालु आवको ९ महिनाको अवधिमा ४.५७ प्रतिशतले बढेको छ ।

ग्रुपको हंशराज हुलासचन एन्ड कम्पनी र हुलास अटो क्राफ्‌टले गत आवमा २४ अर्ब ७९ करोड ५० लाख रुपैयाँको कारोबार गरेका थिए । तर, चालु आवको ९ महिनाको अवधिमा कारोबार बढेर ग्रुपको दुई कम्पनीले २५ अर्ब ९८ करोड ५० लाख रुपैयाँको कारोबार गरेका छन् ।

ग्रुपको हंशराज हुलाचन्दले गत आवमा १५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीले १६ अर्ब ४६ करोड रुपैयाँको कारोबार गरेको पाइएको छ ।

त्यस्तै, ग्रुपको अर्को कम्पनी हुलास क्राफ्‌टले गत आवमा ९ अर्ब १२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । चालु आवको ९ महिनाको अवधिमा ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ ।
कुन कम्पनीको कस्तो छ वित्तीय अवस्था ?

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि

सन् १९५९ मा स्थापना भएको कम्पनीको कारोबार चालु आवको ९ महिनाको अवधिमा करिब एक अर्ब रुपैयाँले बढेको पाइएको छ । कम्पनीले सन् २०२४ मा १० अर्ब ६७ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको गत आवमा ४७ प्रतिशत र चालु आवको ९ महिनाको अवधिमा ४० प्रतिशतले कारोबार वृद्धि भएको उल्लेख गरेको छ । कम्पनीअनुसार सन् २०२३ र सन् २०२४ मा गरेको कारोबारको तुलनामा उल्लेखनीय सुधार गरेको उल्लेख छ ।

कम्पनीको विगत दुई वर्षमा क्रमशः खुद नाफाको १८६ प्रतिशत र ७८ प्रतिशत बराबरको अन्तरिम लाभांश वितरण गरिएता पनि कम्पनीको ऋणभार १ गुणाको स्तरमा स्थिर रहेको छ ।

व्यवसायको कारोबार परिमाणमा भएको वृद्धि तथा कर्जाको ब्याजदर घट्दै जानुबाट प्रभाप्त लाभका कारण कम्पनीको ऋण सेवा क्षमता सूचकहरुमा थप सुधार भएको जनाएको छ ।

कम्पनीको चालु आवको ९ महिनामा ब्याज कभरेज अनुपात ४ गुणा पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको ब्याज कभरेज अनुपाथ ३ गुणा थियो ।

कम्पनीको कारोबारमा सुधार आएपनि सञ्चालन नाफा मार्जिन थप घटेर चालु आवको ९ महिनाको अवधिमा ४.२ प्रतिशतमा सिमित भएको छ । गत आवको सोही अवधिमा यो ५.७ प्रतिशत थियो ।

त्यसैगरी, कम्पनीको कार्यशील पुँजीको तीब्रता अझै पनि उच्च स्तरमा नै रहेको छ । कम्पनीको गत वैशाखसम्ममा ३० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ३३ प्रतिशत र सन् २०२४ मा ४१ प्रतिशत कार्यशील पुँजी तीब्रता थियो ।

त्यस्तै, कम्पनीको कारोबार बढे पनि ऋणको उपयोग बढ्नु र नाफा मार्जिन घट्नुका कारण कुल ऋण तथा सञ्चालन नाफा मार्जिन गत वैशाखसम्ममा बढेर ५.७ गुणा पुगेको छ । गत आवको सोही अवधिमा ४.३ गुणा थियो ।

कम्पनी नेपालको लागि बजाज ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन, तीन पाङ्ग्रे सवारी साधन, केटीएम ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन, ट्रिउम्प ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन र सर्भो लुब्रिकान्टको आधिकारिक बिक्रेता हो ।

कम्पनीको देशभर ३ सय बिक्री शाखासहित आधिकारिक सर्भिस सेन्टर र प्रादेशिक डिलरबाट कारोबार गर्दै आएको छ ।

कम्पनीमा गोल्छा परिवारको १९ जना सदस्यका स्वामित्व छन् । जसमा शेखर गोल्छाको सबैभन्दा बढी छ । कम्पनीमा शेखर गोल्छाको ५३.८ प्रतिशत स्वामित्व रहेको छ भने अन्य सदस्यको ३.७५ प्रतिशत र त्यसभन्दा कम स्वामित्व छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब २१ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ अर्ब ९३ करोड रुपैयाँको रेटिङ गराएको हो ।

हुलास अटो क्राफ्‌ट प्रालि

सन् २०१३ मा स्थापना भएको कम्पनी बजाज ब्रान्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको आधिकारिक एसेम्बलिङ प्लान्ट हो ।

कम्पनी हंशराज हुलाचन्द एन्ड कम्पनीको सहायक कम्पनी हो । कम्पनीले नवलपरासीको रामग्राम क्षेत्रमा एसेम्बल प्लान्टबाट सवारी साधन उत्पादन गर्दै आएको छ ।

कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, गत आवमा ९ अर्ब १२ करोड ८० लाख रुपैयाँ, सन् २०२४ मा ५ अर्ब १३ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो ।

कम्पनीको कारोबार गत आवमा ७८ प्रतिशतले वृद्धि भएको थियो भने चालु आवको ९ महिनाको अवधिमा ३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार आएको छ ।

कम्पनीको गत आवमा सञ्चालन नाफा मार्जिन ६.८ प्रतिशत थियो । चालु आवको ९ महिनाको अवधिमा सुधार भई ६.९ प्रतिशत पुगेको छ ।

गत आव र चालु आवमा अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय रुपमा बढेकाले कम्पनीले ऋण सेवा क्षमतासम्बन्धी सूचकहरू सहज स्तरमा कायम राख्न सफल भएको छ । जसले गर्दा कम्पनीको ऋण सेवा कभरेज अनुपात चालु आवको ९ महिनाको अवधिमा ३.३ गुणा पुगेको छ । गत आवमा २.८ गुणा थियो ।

कम्पनीले सन् २०१८ देखि दुई पाङ्ग्रे एसेम्बल प्लान्टबाट व्यवसायिक कारोबार सुरू गरेको थियो भने सन् २०१९ बाट तीन पाङ्ग्रे सवारी साधनको एसेम्बल प्प्लान्टबाट व्यवसायिक कारोबार सुरू गरेको थियो ।

त्यसैगरी, कम्पनीले हालै मात्रै सार्वजनिक गरेको चेतक ब्रान्डको विद्युतीय स्कुटरको पनि एसेम्बल प्लान्ट निर्माण गर्ने योजना बनाएको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा गरेको कारोबारमध्ये पल्सर ब्रान्डको सवारी साधनबाट भएको उल्लेख छ ।

शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ७६ करोड ६२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १७ करोड २१ लाख रुपैयाँको रेटिङ गराएको हो ।