
काठमाडौं । नेपाली उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो, नवप्रवर्तनमुखी र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यका साथ वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक महत्त्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच दुई संस्थाले उड्डयन क्षेत्रको समग्र विकास, एकता र व्यावसायिक दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने घोषणा गरेका हुन् । २०५५ मा स्थापना भएको वायुसेवा सञ्चालक संघ र २०७५ मा स्थापना भएको एरोनटिकल सोसाइटीको यो संयुक्त प्रयासले नेपाली उड्डयन आकाशलाई थप सुरक्षित र प्रतिस्पर्धी बनाउने विषयमा एमओयू भएको छ ।
विज्ञप्तिअनुसार यो साझेदारीले वायुसेवा कम्पनी, विमानस्थल, सेवा प्रदायक संस्था, इन्जिनियर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा जोड्नेछ ।
यसले ज्ञान, अनुभव र विशेषज्ञताको आदानप्रदानलाई प्रोत्साहन गर्दै दीर्घकालीन विकासको आधार निर्माण गर्ने लक्ष्य लिएको छ ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी विज्ञप्तिमा नेपाली उड्डयन क्षेत्रलाई भविष्यका अवसर र चुनौतीहरू सामना गर्न सक्षम बनाउने यस साझा अभियानमा सबै सरोकारवालाहरूलाई सहभागी हुन आह्वान समेत गरिएको छ ।
यस्ता छन सहकार्यका १२ मुख्य क्षेत्रहरु
१. उड्डयन क्षेत्रको समग्र क्षमता विकास तथा नेतृत्व प्रवर्द्धन गर्ने ।
२. उड्डयन सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने ।
३. अन्तर्राष्ट्रिय मापदण्डअनुरूप दक्ष जनशक्ति उत्पादन तथा क्षमता अभिवृद्धिमा सहकार्य गर्ने ।
४. विद्यार्थी, युवा पेशाकर्मी तथा भावी नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने ।
५. सुरक्षा, दिगोपन, नवप्रवर्तन तथा अनुसन्धान प्रवर्द्धन गर्ने ।
६. उड्डयन क्षेत्रमा सुरक्षा संस्कृतिको विकास तथा प्रवर्द्धन गर्ने ।
७. दिगो उड्डयन, अनुसन्धान, प्राविधिक अध्ययन तथा ज्ञान उत्पादनलाई प्रोत्साहन गर्ने ।
८. डिजिटलाइजेसन, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्य उदीयमान प्रविधिहरूको प्रयोग र विकाससम्बन्धी सहकार्य विस्तार गर्ने ।
९. उड्डयन क्षेत्रभित्र एकता, समन्वय तथा ज्ञान साझेदारी गर्ने ।
१०. उद्योग, शैक्षिक संस्था, प्राविधिक समुदाय र अन्य सरोकारवालाहरूबीचको सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने ।
११. सेमिनार, सम्मेलन, कार्यशाला तथा प्राविधिक अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने ।
१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा ज्ञान आदानप्रदान, अनुभव साझेदारी तथा नीति संवाद कार्यक्रम सञ्चालन गर्ने ।








प्रतिक्रिया