बालेन सरकारले पनि असारमै विकास गर्नुपर्नेः जेठसम्ममा ३२% खर्च, महिना दिनमा ६८% सकिएला ?



काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई चालू आर्थिक वर्ष २०८२/८३ मा जम्मा साढे ३ महिना मात्रै काम गर्ने अवसर मिलेको छ । आगामी आर्थिक वर्षदेखि पूरै वर्षभरिकै कामको आधारमा असारे विकासको नतिजा देखिने भए तापनि यो वर्ष भने पछिल्लो तीन महिनाको समेत गह्रुङ्गो जिम्मेवारी लिनुपर्ने अवस्थामा छ ।

१३ चैतमा बनेको यो सरकारले चालू आर्थिक वर्षमा पाएको यो साढे तीन महिना मात्रैले सरकारको वार्षिक कामको मूल्यांकन नहुने भए तापनि सरकारी कार्यशैली र तिनै कर्मचारीले गर्ने कार्यशैलीमा भने सुधार नभएको यो वर्ष समेतको असारे विकासको भारीले देखाएको छ ।

चालू आर्थिक वर्षमा पनि विगतकै वर्षजस्तै जेठसम्मको ११ महिनामा जम्मा साढे ३२ प्रतिशत मात्रै विकास खर्च भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालय (महालेखा नियन्त्रक) का अनुसार जेठसम्ममा १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यस्तो खर्च असारसम्ममा ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ ।

चालू आवको जेठसम्ममा सरकारको राजस्व आम्दानी लक्ष्यको ७३ प्रतिशत छ । यस्तो आम्दानी कर, गैरकर र अनुदानबाट समेत गरेर १० खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको छ । चालू आवमा सरकारको राजस्व संकलनको लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ छ ।

सरकारले यो अवधिमा गरेको खर्च आम्दानीको तुलनामा २ खर्ब ६२ अर्ब रुपैयाँले बढी छ । यो अवधिसम्ममा भएको यस्तो खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड रुपैयाँ छ । सरकारले चालू आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ ।

गत वर्ष २०८१/८२ मा पनि सरकारले जेठसम्ममा गरेको खर्च १२ खर्ब ८२ अर्ब रुपैयाँ थियो । गत आवमा सरकारले जेठसम्ममा ४१ प्रतिशत विकास निर्माणमा भएको पुँजीगत खर्च गरेको थियो । गत वर्ष पनि जेठसम्ममा ७१ प्रतिशत मात्रै राजस्व संकलन भएको तथ्यांकले देखाएको छ ।