नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्रान्ड सहभागी हुने

203
Shares

काठमाडौं । । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का लागि स्टल बाँडफाँड कार्य सम्पन्न गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा आगामी २०८३ साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने यस वृहत् प्रदर्शनीका लागि पारदर्शी चिठ्ठा प्रक्रियामार्फत स्टलहरू वितरण गरिएको हो।

एक्स्पोमा कुल ४९ वटा ब्रान्डहरूको सहभागिता रहनेछ। जसमा २६ वटा स्टल चार पांग्रे सवारी साधनका लागि र २३ वटा स्टल दुई पांग्रे तथा व्यावसायिक सवारी साधनका लागि छुट्याइएको छ।

स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमाका अध्यक्ष रितु सिंह वैद्यले यस एक्स्पोलाई केवल प्रदर्शनीमा मात्र सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता (मोबिलिटी) प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

उनले निर्धारित समय सकिएपछि पनि थप कम्पनीहरूबाट सहभागिताको प्रस्ताव आइरहेको जानकारी दिँदै उपलब्ध स्थानअनुसार सम्बोधन गरिने बताइन।

त्यस्तै, योजना समितिका अध्यक्ष गौरव शारदाले उद्योग क्षेत्रको उत्साहजनक सहभागिताले एक्स्पोलाई विश्वस्तरीय बनाउन थप ऊर्जा मिलेको बताए।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले तयारीका कामहरू उच्च मापदण्डअनुसार अगाडि बढिरहेको जानकारी दिए।

नेपालकै सबैभन्दा ठूलो मोबिलिटी मेलाका रूपमा हेरिएको यस एक्स्पोमा नयाँ सवारी साधन सार्वजनिक गर्ने, अत्याधुनिक प्रविधिको प्रदर्शन र ज्ञानमूलक सत्रहरू समेत समावेश हुनेछन्। प्रदर्शनीको व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ।