
एजेन्सी । ओपनएआईले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स सेवाहरूको मूल्यमा भारी कटौती गर्ने विषयमा विचार गरिरहेको वाल स्ट्रिट जर्नलले समाचार प्रकाशन गरेको छ । आफ्नो प्रतिस्पर्धी एन्थ्रोपिकबाट उपभोक्ताहरूलाई आकर्षित गर्नका लागि उसले यो निर्णय लिएको हो ।
‘कम्पनीले टोकनका लागि लिने शुल्कमा उल्लेख्य कटौती गर्नेबारे विचार गरिरहेको छ । त्यो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीहरूले आफ्ना उत्पादनहरूको बिलिङका लागि प्रयोग गर्ने मापनको एकाइ हो,’ रिपोर्टमा भनिएको छ । स्रोतका अनुसार, एन्थ्रोपिकले पनि यस्तै कटौती गर्न सक्ने अनुमानमा कम्पनीले यो कदम चाल्न लागेको हो ।
च्याटजीपीटी निर्माता कम्पनी हाल आफ्ना प्रमुख जीपीटी–५.५ मोडलहरूमा पहुँचका लागि उपभोक्ताहरूबाट मासिक ८ डलर, २० डलर र १०० डलर वा त्यसभन्दा माथिको तहगत सदस्यता शुल्क लिने गर्छ ।
यसको विपरीत एन्थ्रोपिकले ‘क्लोड प्रो’ को वार्षिक सदस्यतामा प्रयोगकर्ताहरूबाट मासिक १७ डलर र ‘क्लोड म्याक्स’ को सदस्यताका लागि मासिक १०० डलर वा सोभन्दा माथि शुल्क लिने गर्छ ।
सम्भावित मूल्य कटौतीको यो रिपोर्ट यस्तो समयमा आएको हो जब यी दुई कम्पनीहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ ।
एन्थ्रोपिकले आईपीओका लागि निवेदन दिएको लगत्तै ओपनएआईले पनि सोमबार अमेरिकी धितोपत्र र विनिमय आयोग (एसईसी) मा गोप्य रूपमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि आवेदन दर्ता गरेको छ ।
एन्थ्रोपिकले मे २८ मा ९६५ अर्ब डलरको मूल्यांकनमा आफ्नो सिरिज एच फन्डिङ राउन्ड सम्पन्न गरेको छ । त्यसले मार्चमा ८५२ अर्ब डलर मूल्यांकन गरिएको ओपनएआईलाई थोरैले पछाडि पारेको छ ।
बजार अनुसन्धान संस्था सेन्सर टावरको अनुमान अनुसार, नोभेम्बर २०२२ मा सार्वजनिक भएको करिब तीन वर्षपछि मे महिनामा च्याटजीपीटी १ अर्ब मासिक प्रयोगकर्ता पुग्ने पहिलो एप बनेको छ । यसले गुगल म्याप्सले राखेको अघिल्लो रेकर्डलाई पनि उछिनेको छ । उसलाई यो विन्दुमा पुग्न सार्वजनिक भएको करिब पाँच वर्ष लागेको थियो ।









प्रतिक्रिया