
एजेन्सी । फिलिपिन्सले बुधबार दक्षिण चीन सागरको विवादित स्कारबोरो शोलमा राखिएको तैरिने संरचना हटाउन बेइजिङलाई आग्रह गरिरहेको बताएको छ । साथै, उसले उक्त एटोल (टापु) लाई मानवनिर्मित टापुमा परिणत गर्न नदिने कुरा पनि स्पष्ट पारेको छ ।
मनिलाले मंगलबार चीनसँग चलायमान प्लेटफर्म भनिएको संरचनाको उपस्थितिलाई लिएर कूटनीतिक विरोध दर्ता गरेको छ । फिलिपिन्स कोस्ट गार्डका अनुसार, उक्त प्लेटफर्म सम्भवतः चिनियाँ अनुसन्धान जहाजहरूले राखेका हुन् ।
‘रक्षा र सुरक्षाको दृष्टिकोणबाट हामीले आफ्नो जनादेश पूरा गर्न जे सक्छौं त्यही गरिरहेका छौं र यसमा बाजो डे मासिनलोकलाई अर्को मानवनिर्मित टापुको रूपमा विकसित हुनबाट रोक्ने कुरा पनि समावेश छ,’ फिलिपिन्स जलसेनाका प्रवक्ता रोय त्रिनिदादले शोलको स्थानीय नाम प्रयोग गर्दै पत्रकार सम्मेलनमा भने ।
फिलिपिन्सका सुरक्षा अधिकारीहरूले बुधबारको पत्रकार सम्मेलनमा तैरिरहेको संरचनाका फोटोहरू सार्वजनिक गरे जसमा धेरै मानिसहरू सवार रहेको र बीचमा एउटा एन्टेना राखिएको वर्गाकार प्लेटफर्म देखिएको छ ।
उक्त संरचना काठको फल्याकहरूबाट बनेको एउटा केन्द्रीय डेक जस्तो देखिन्छ जसको वरिपरि बेल्नाको आकार तैरिने उपकरणहरू सुरक्षित रूपमा राखिएका छन् ।
चीनले उक्त संरचनाका लागि आफू जिम्मेवार रहेको कुरा न त पुष्टि गरेको छ न त अस्वीकार नै गरेको छ । त्यहाँको विदेश मन्त्रालयले मंगलबार बेइजिङको उक्त शोलमाथि अविवादित सार्वभौमसत्ता रहेको कुरा दोहोर्याउँदै त्यहाँ वैज्ञानिक अनुसन्धान लगायतका चीनका गतिविधिहरू वैध रहेको बताएको छ ।
फिलिपिन्सका सुरक्षा अधिकारीहरूले सार्वजनिक गरेका फोटोहरूमा शोलभित्र बुयहरू (पानीमा तैरिने चिह्न) र अर्कै खालको एन्टेनाको उपस्थिति पनि देखिएको छ ।
रोयटर्सले यसअघि नै उक्त प्लेटफर्मको उपस्थितिलाई पुष्टि गर्ने भूउपग्रहबाट लिइएका तस्बिरहरू प्राप्त गरेको थियो यद्यपि जुन १ मा खिचिएको तस्बिरमा यो शोलको मुखमा देखिएको थिएन । फिलिपिन्स कोस्ट गार्डले यो अझै शोलमै रहेको र पछिल्लोपटक लगुनको बीचमा देखिएको बताएको छ ।
फिलिपिन्सका अधिकारीहरूले उक्त प्लेटफर्मको उद्देश्य वा यसको उपस्थितिलाई चीनद्वारा तनाव बढाउने कार्यको रूपमा हेर्ने कि नहेर्ने भन्ने बारेमा अड्कलबाजी गर्न अस्वीकार गरे । चीनले गत वर्ष उक्त शोलमा राष्ट्रिय प्रकृति आरक्ष निर्माण गर्ने घोषणा गरेको थियो ।
युनिभर्सिटी अफ द फिलिपिन्सका प्राध्यापक र समुद्री कानुनविज्ञ जय बटोङबाकलले उक्त फोटोहरूले दक्षिण चीन सागरमा चीनले बनाएका सातवटा मानवनिर्मित टापुहरूमध्ये एक मिसचिफ रिफको सम्झना दिलाएको बताए । यो धावनमार्ग, रेडार प्रणाली र सतहबाट हावामा प्रहार गर्ने मिसाइलहरूले सुसज्जित छ ।
‘उनीहरूले आधारबाट सुरु गरे, त्यसपछि साना झुपडीहरू बनाए जुन पछि अपग्रेड हुँदै गए,’ बटोङबाकलले भने । उनले उक्त संरचनालाई चीनको ‘बिस्तारै जमिनको तथ्यलाई परिवर्तन गर्ने कार्य’ को रूपमा हेरेको पनि बताए ।
वार्षिक ३० खर्ब डलरको विश्वव्यापी व्यापार हुने मार्गको रूपमा रहेको दक्षिण चीन सागरको विवादित क्षेत्रहरूमा बारम्बार हुने समुद्री भिडन्तहरूका बीच मनिला र बेइजिङबीचको सम्बन्ध बिग्रिएको छ । चीनले यस सागरको लगभग सबै भागमा आफ्नो दाबी गर्छ ।
स्कारबोरो शोल प्रमुख ढुवानी मार्गहरूको नजिक अवस्थित छ र यो माछाको भण्डार तथा आँधीबेहरीको समयमा जहाजहरूका लागि सुरक्षित आश्रय दिने फिरोजा रङको लगुनका लागि प्रख्यात छ । चीनले सन् २०१२ मा यसमाथि वास्तविक नियन्त्रण जमाएको थियो ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) ले दक्षिण चीन सागरका लागि लामो समयदेखि प्रतीक्षा गरिएको आचारसंहिताको बारेमा चीनसँग वार्ता गरिरहेको छ तर अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन ।
फिलिपिन्सकी विदेशसचिव मा. थेरेसा लाजारोले बुधबार टोकियोमा भएको निक्केई फोरममा खराब आचारसंहिता हुनुभन्दा आचारसंहिता नै नहुनु राम्रो हुने बताएकी छन् । उनले सम्झौता निष्कर्षमा पुर्याउने प्रयासहरू समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (अनक्लोस) र अन्य सहमत सिद्धान्तहरूमा आधारित हुनुपर्ने बताइन् ।









प्रतिक्रिया