
एजेन्सी । विश्वव्यापी नियामकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का बढ्दो स्वायत्त स्वरूपहरूले वित्तीय प्रणालीमा जोखिम बढाउन सक्ने भन्दै यसको प्रयोगमा नयाँ नियन्त्रणका उपायहरू अपनाउन आह्वान गरेका छन् ।
फाइनान्सियल स्टेबिलिटी बोर्ड (एफएसबी) ले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै विशेष गरी एजेन्टिक एआईबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि सुरक्षाका उपायहरू अवलम्बन गर्न वित्तीय संस्थाहरूलाई प्रोत्साहन गरेको छ ।
एजेन्टिक एआई भन्नाले सीमित मानवीय रेखदेखमा योजना बनाउन, तर्क गर्न र कार्यहरू कार्यान्वयन गर्न सक्ने प्रणालीहरूलाई बुझिन्छ जसले वित्तीय क्षेत्रको कार्यक्षमता बढाए पनि नयाँ सुरक्षा चुनौतीहरू थपेका छन् ।
हाल वित्तीय संस्थाहरूले ठगी पत्ता लगाउन, ग्राहक सेवा दिन र ब्याक–अफिसका कार्यहरू सञ्चालन गर्न यस्ता एआई एजेन्टहरूको व्यापक प्रयोग गरिरहेका छन् । क्याम्ब्रिज सेन्टर फर अल्टरनेटिभ फाइनान्सको सर्वेक्षण अनुसार, वित्तीय क्षेत्रका ५२ प्रतिशत उत्तरदाताहरूले एजेन्टिक एआईलाई सक्रिय रूपमा अपनाइरहेको बताएका छन् ।
तीमध्ये २३ प्रतिशतले यस प्रविधिलाई विस्तार वा रूपान्तरण गरिरहेका छन् भने २९ प्रतिशतले यसका विभिन्न पक्षहरूको परीक्षण गरिरहेका छन् । एन्थ्रोपिकले मिथोस मोडल सार्वजनिक गरेपछि बैंकिङ क्षेत्रमा साइबर सुरक्षा चुनौती बढ्ने खतरा देखिएसँगै नियामकहरू र विश्वव्यापी मापदण्ड निर्धारण गर्ने निकायहरूले यसबारे आफ्ना चेतावनीहरूलाई थप तीव्र बनाएका हुन् ।
एफएसबीका अनुसार, स्वायत्त एआईले सिर्जना गर्ने जोखिमहरू निकै तीव्र गतिमा सतहमा आउन सक्छन् । यसमा अनधिकृत वा अवैध कार्यहरू हुने, संवेदनशील डेटा चोरी हुने र अन्तःसम्बन्धित प्रणालीहरूमा ठूलो अवरोध पुग्न सक्ने सम्भावना रहन्छ ।
प्रतिवेदनले विशेषगरी मानवीय नियन्त्रणको विषयमा चासो व्यक्त गर्दै भनेको छ, ‘एआई एजेन्टहरूले मानवीय रेखदेखका लागि एक विशिष्ट चुनौती खडा गर्छन् ।’ यी प्रणालीहरूले कहिलेकाहीँ संस्थाको वास्तविक उद्देश्यभन्दा बाहिर गएर कार्य गर्न सक्छन् र कर्मचारीहरूलाई यसबारे तत्काल जानकारी नहुन सक्छ वा उनीहरूले समयमै हस्तक्षेप गर्न नसक्ने जोखिम रहन्छ ।
यी जोखिमहरूलाई सम्बोधन गर्न विश्वव्यापी मापदण्ड निर्धारण गर्ने यस निकायले केही प्रस्तावित सबल अभ्यासहरू सार्वजनिक गरेको छ । यसले वित्तीय संस्थाहरूलाई एआईको प्रयोगका लागि स्पष्ट सीमाहरू तोक्न र आन्तरिक प्रणालीमै सुरक्षाका संयन्त्रहरू जडान गर्न आग्रह गरेको छ ।
यी गैर–बाध्यकारी दिशानिर्देशहरूमाथि आगामी साउन ७ सम्म सरोकारवालाहरूले आफ्नो सुझाव दिन सक्नेछन् । प्रस्तावमा एआई एजेन्टहरूले के गर्न पाउने र के नपाउने भन्ने स्पष्ट सीमा तोकिनुपर्ने र उच्च जोखिमयुक्त कार्यहरू, जस्तै निश्चित तोकिएको सीमाभन्दा माथिको वित्तीय कारोबारका लागि अनिवार्य रूपमा मानवीय स्वीकृति चाहिने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
यसका साथै एफएसबीले वित्तीय संस्थाहरूलाई आफ्ना मानव संसाधन नियन्त्रण र प्रक्रियाहरूलाई एआई एजेन्टहरूको हकमा पनि अनुकूलन गर्न अनौठो सुझाव दिएको छ । संस्थाले यी एआई प्रणालीहरूलाई सिन्थेटिक कर्मचारीको रूपमा व्यवहार गर्दै उनीहरूको कार्यसम्पादन र जोखिमको नियमन गर्नुपर्ने प्रतिवेदनमा जनाइएको छ ।
यसरी एआईलाई कर्मचारीकै दर्जामा राखेर नियन्त्रण गर्दा स्वायत्त प्रणालीबाट हुन सक्ने सम्भावित वित्तीय दुर्घटनाहरूलाई कम गर्न सकिने र वित्तीय स्थिरता कायम राख्न मद्दत पुग्ने नियामकहरूको विश्वास छ ।









प्रतिक्रिया