
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको भ्रमण सकेर फर्किएलगत्तै अर्को महत्त्वपूर्ण कूटनीतिक भ्रमणमा जाने भएका छन् ।
मन्त्री खनाल जेठ ३१ गते बेइजिङतर्फ लाग्ने गरी तयारी तीव्र पारिएको छ ।
भ्रमणका क्रममा उनले असार १ र २ गते चिनियाँ समकक्षी वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यु हाइसिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची छ । यस भ्रमणलाई प्रधानमन्त्री वालेन्द्र शाहको आगामी चीन भ्रमणको पूर्वतयारीका रूपमा समेत हेरिएको छ ।
खनालको यस भ्रमणमा दुई देशबीचको आर्थिक सहायता, व्यापारिक सम्बन्ध र नयाँ अर्थनीतिका आयामहरूमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । विशेषगरी, नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले व्यापारिक मार्ग खोल्ने समझदारी गरेका विषयमा नेपालले राख्दै आएको स्पष्ट अडानलाई मन्त्री खनालले बेइजिङमा पनि दोहोर्याउने सम्भावना बलियो छ । यसअघि दिल्लीमा भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि उनले यो विषयलाई उठाएका थिए ।
औपचारिक भेटघाटबाहेक मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनी असार ३ गते स्वदेश फर्कनेछन् ।
परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक एजेन्डा भने अझै सार्वजनिक गरिसकेको छैन ।
मन्त्री खनाल गत जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा थिए । त्यहाँ उनले भारतीय नेतृत्व र सत्तारूढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।
दिल्लीबाट फर्केको हप्तादिन नबित्दै हुन लागेको चीन भ्रमणलाई नेपालको सन्तुलित परराष्ट्र नीतिको कडीका रूपमा विश्लेषण गरिएको छ ।









प्रतिक्रिया