कम्बोडियामा रहेका ६६ नेपालीलाई तत्काल फर्कन निर्देशन, ५ लाख डलर जरिवाना र जन्मकैद हुनसक्ने चेतावनी

315
Shares

काठमाडौं । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियामा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका ६६ जना नेपाली नागरिकहरूलाई तत्काल नेपाल फर्कन अन्तिम चेतावनी जारी गरेको छ ।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै आगामी १२ जुन २०२६ (जेठ २९ गते) भित्र अनिवार्य रूपमा नेपाल फर्कन निर्देशन दिएको हो । तोकिएको समयमा नफर्किए उनीहरूले कम्बोडियाको नयाँ कानुनअनुसार ५ लाख अमेरिकी डलर (करिब साढे ६ करोड नेपाली रुपैयाँ) सम्म जरिवाना र आजीवन कारावाससम्मको कठोर सजाय भोग्नुपर्ने चेतावनी दिइएको छ ।

विभिन्न उद्देश्यले कम्बोडिया पुगेका ६०२ जना नेपाली नागरिकहरूको भिसा अवधि सकिए पनि उनीहरूले भिसा नवीकरण नगरी बसिरहेका थिए । नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले उनीहरूका लागि लाग्ने भिसा शुल्क र जरिवाना रकम मिनाहा गरी नेपाल फर्कन सहजीकरण गरिदिएको थियो ।


यद्यपि, दूतावासले इमेल, फोन र ह्वाट्सएपमार्फत पटक–पटक सम्पर्क गर्दा पनि हाल सार्वजनिक गरिएको सूचीमा रहेका ६६ जना नेपालीहरूले नेपाल फर्कन कुनै चासो नदेखाएको दूतावासले जनाएको छ ।

दूतावासले सार्वजनिक गरिएको सूचीमा रहेका व्यक्तिहरूका परिवारजन र आफन्तहरूलाई समेत यसै सूचनालाई आधार मानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ, ‘विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपालीहरूले त्यहाँको नयाँ कानुनअनुसार कठोर सजाय व्यहोर्नुपर्ने अवस्था छ, त्यसैले सबैलाई सचेत गराइन्छ ।’

सूचीमा उल्लेखित ६६ जनाले आगामी १२ जुन २०२६ भित्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी नेपाल फर्किसक्नु पर्नेछ ।