सरकारले दुई महिनासम्म अध्यक्ष नियुक्त गर्न नसक्नु दुर्भाग्यपूर्णः सेबोन कर्मचारी

98
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीले तत्काल नयाँ अध्यक्ष नियुक्त गर्न माग गरेका छन् । दुई महिनादेखि पूर्णकालीन अध्यक्षविहीन अवस्थामा रहेको भन्दै बोर्डका कर्मचारीले अध्यक्ष नियुक्ती गर्न माग गरेका हुन् ।

सेबोनको ३३औँ वार्षिकोत्सवका अवसरमा जारी प्रेस विज्ञप्तिमार्फत नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म अन्योलमा रहँदा समग्र पुँजी बजारको नेतृत्व र नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको जनाएको छ ।

युनियनले बोर्डको पूर्णकालीन अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहनु आफैंमा दुर्भाग्यपूर्ण अवस्था भएको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अविलम्ब टुंगोमा पुर्‍याउन सरकारसमक्ष जोडदार माग गरेको छ ।

युनियनका अनुसार नियामक निकाय नेतृत्वविहीन हुँदा पुँजी बजारसँग सम्बन्धित महत्वपूर्ण निर्णय, सुधार कार्यक्रम र नीतिगत प्रक्रियामा असर परेको छ ।

विज्ञप्तिमा वर्तमान उच्च व्यवस्थापन तथा सञ्चालक समितिको निर्णयहीन प्रवृत्तिका कारण संस्था प्रशासनिक र व्यावसायिक रूपमा क्रमशः कमजोर बन्दै गएको आरोप पनि लगाइएको छ । युनियनले रोकिएका नीतिगत तथा प्रक्रियागत निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ ।

यस्तै, सेबोन स्थापनाको ३३ वर्ष पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजना गरिने वार्षिकोत्सव कार्यक्रम व्यवस्थापन पक्षले एकपक्षीय रूपमा स्थगित गरेको भन्दै कर्मचारी युनियनले असन्तुष्टि जनाएको छ ।

कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी कार्यक्रम रोक्ने निर्णय गरिएको भन्दै युनियनले त्यसलाई स्वेच्छाचारी र गैरजिम्मेवार कदमको संज्ञा दिएको छ ।