रविको प्रस्ताव- प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, विपक्षीको भनाइ: हुँदैन

0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह तत्काल संसद आउन नसक्ने बताएका छन् ।

नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान सोमवार सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा विपक्ष दलहरुले राखेपछि उनले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताए ।

सभापति लामिछानेले सरकारको तर्फबाट उक्त विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने पनि बताए ।

परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझे आफूले जवाफ दिने सभापति लामिछानेको भनाइ थियो । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहमाथि उठाइएको प्रश्नको जवाफ परराष्ट्रमन्त्री खनालले दिने बताएको जानकारी दिए ।

बैठकले आफूहरुले प्रधानमन्त्रीले जवाफ नदिई अघि बढन नसकिने कुरा राखेको पनि प्रमुख सचेतक महरले जानकारी दिए ।

‘यो गम्भिर विषय हो प्रधानमन्त्रीको स्टेटमेन्ट । हामी संसद खोल्न तयार छौँ । संसद अवरोध गर्ने हाम्रो रहर चाहना होइन । हामी पनि यसबाट मर्माहत भएका छौ । बजेट आएको छ । अरु कुरा आएको छ । धेरै इस्युहरु छ । ती विषयहरुमा छलफ गर्नुपर्नेछ । तर संसद खोल्ने वातावरण बनाउनुहोस् भनेर हामीले आग्रह गर्‍यौं,’ उनले भने, ‘प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्छ । यो असाध्यै गम्भीर विषय हो । यो असाध्यै सिरियस विषय भएको हुनाले प्रधानमन्त्रीले संसदमा आएर नै जवाफ दिनुपर्छ । र, यसमा स्पष्ट बनाउनु पर्छ । यदि उहाँको त्यस्तो कुनै नियत होइन भने नत्र एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरु कुनै देशको भूमि मिचेको छ भन्ने संसदको रोष्टमबाट भन्ने कुरा यो असाध्यै राष्ट्रसँग जोडिएको, देशसँग जोडिएको विषय भएको हुनाले यो त्यति राम्रो हुँदैन । यो उहाँको रेकर्ड संसदबाट हटाउनु पर्दछ ।’

त्यसपछि सभापति लामिछानेले दलमा पनि छलफल गर्ने बताए ।

सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिने र आवश्यक परे आफूले पनि दिने सभापति लामिछानेले बैठकमा भने पनि विपक्षी दलहरूले त्यसलाई स्वीकार गरेनन् ।

बैठकमा सभापति लामिछानेले आफनो भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।