हायर पर्चेज कम्पनीले पनि बैंकहरूले झैं पाए सुविधा, प्रोभिजन रकमलाई खर्चको रुपमा कट्टी गर्न सकिने

322
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर हायर पर्चेज कारोबार सञ्चालन गर्ने कम्पनीले नोक्सानी व्यवस्थाको रकममा बैंकहरूले झैं सुविधा पाएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकहरूले झैं उनीहरूले गरेको नोक्सानी व्यवस्था (प्रोभिजन)को रकमलाई खर्चका रूपमा घटाउन पाउने व्यवस्था गरिदिएका हुन् ।

आर्थिक विधेयकमार्फत् आयकर ऐन संशोधन गर्दै अर्थमन्त्री वाग्लेले हायर पर्चेज कम्पनीहरूले पनि कुल कर्जाको ५ प्रतिशतसम्मको कर्जा नोक्सानी व्यवस्था रकमलाई खर्चको रुपमा कट्टी गर्न पाउने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले पनि कर्जा नोक्सानी व्यवस्था र गैरबैंकिङ सम्पत्ति वापत प्रोभिजन गरेको ५ प्रतिशत रकमलाई खर्च कट्टी गर्न पाउने व्यवस्था छ ।

‘नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकम तथा गैरबैकिङ सम्पत्ति बापत व्यवस्था गरिएको रकम समेतको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ,’ आयकर ऐनको दफा ५९ को उपदफा (१क) मा भनिएको छ ।

सरकारले आर्थिक विधेयकको दफा ५७ को उपदफा (१२) मार्फत् आयकर ऐनको सोही उपदफामा संशोधन गर्दै राष्ट्र बैंकबाट स्वीकृति लिएर हायर पर्चेज कारोबार गर्ने संस्थाले पनि कुल कर्जाको ५ प्रशितसम्मको कर्जा नोक्सानी व्यवस्था रकमलाई खर्चको रुपमा कट्टी गर्नसक्ने व्यवस्था गरेको हो ।