नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल, अतिरिक्त सचिव महावारले गरे स्वागत

168
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आफ्नो पहिलो औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भारत पुगेका खनाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावारले स्वागत गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछिको यो पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हो ।

भ्रमणका लागि प्रस्थान गर्नुअघि काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले यस भ्रमणले नेपालको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री खनालको स्वागत गर्दै भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेको छ । मन्त्रालयले लेखेको छ, ‘नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई उनको पहिलो औपचारिक भारत भ्रमणका लागि हार्दिक स्वागत छ । नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै यस भ्रमणले भारत र नेपालबीचको विशेष साझेदारीलाई अझ सुदृढ बनाउन मद्दत गर्नेछ ।’

भारतले यस भ्रमणलाई दुई देशबीचको सुमधुर सम्बन्धको निरन्तरताका रूपमा लिएको संकेत गरेको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । उक्त अवसरमा दुई देशका विदेशमन्त्रीबीच नेपाल र भारतको आपसी हित, साझा चासो र सहयोगका विविध आयामहरूमा गहन र विस्तृत छलफल हुनेछ ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने तालिका रहेको छ ।