
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका वकिलहरूले मे महिनामा बीबीसी विरुद्धको १० अर्ब डलरको मानहानिको मुद्दामा डिस्कभरी (प्रमाण संकलन) प्रक्रिया रोक्नका लागि संघीय न्यायाधीशसँग माग गरेका छन् । उनीहरूले यस्ता विषयहरू अर्कै न्यायाधीशलाई सुम्पिने अनुरोधको नतिजा नआउञ्जेल यो प्रक्रिया रोक्न आग्रह गरेका हुन् ।
ट्रम्पले सो सार्वजनिक रूपमा वित्तपोषित प्रसारण संस्थाले ६ जनवरी २०२१ को आफ्नो भाषणका अंशहरू काटेर र जोडेर आफूले समर्थकहरूलाई अमेरिकी संसदमा आक्रमण गर्न निर्देशन दिएको जस्तो देखाएर आफ्नो मानहानि गरेको आरोप लगाएका छन् ।
ट्रम्पको कानुनी टोलीले मजिस्ट्रेट न्यायाधीश एन्जोलिक लेटले यसअघि ट्रम्पको प्रत्यक्ष विपक्षी रहेका एक पक्षको प्रतिनिधित्व गरेकाले यसले अनुचित व्यवहारको संकेत दिने बताएको छ । बीबीसीले भने यस अनुरोधको विरोध गरेको छ ।
बीबीसीका वकिलहरूले भने, ‘यसको मुख्य कारण… डोनाल्ड जे. ट्रम्प रिभोकेबल ट्रस्टले अदालतको आदेश बमोजिम कुनै पनि वित्तीय जानकारी दिन स्पष्ट रूपमा अस्वीकार गर्नु देखिएको छ जुन ट्रस्टको प्रतिनिधित्व पनि वादीकै वकिलहरूले गरिरहेका छन् ।’
ट्रम्पका वकिलहरूले भने न्यायाधीश परिवर्तनको अनुरोधमा निर्णय नभएसम्मका लागि केही समयका लागि मात्र प्रक्रिया रोक्न चाहेको बताएका छन् । यस्तो फैसला कहिले हुन्छ भन्ने कुरा तत्काल स्पष्ट भएको छैन ।
डिसेम्बरमा फ्लोरिडामा दर्ता गरिएको ट्रम्पको मुद्दामा बीबीसीले भ्रामक र अनुचित व्यापारिक अभ्यासहरूलाई रोक्ने राज्यको कानुन उल्लंघन गरेको उल्लेख छ । उनले दुईवटा आरोपमध्ये प्रत्येकमा कम्तीमा ५ अर्ब डलर क्षतिपूर्तिको माग गरिरहेका छन् ।
ट्रम्पको कानुनी टोलीका प्रवक्ताले फाइनान्सियल टाइम्सलाई बीबीसीले उनको भाषणलाई बंग्याएर र तोडमोड गरी जानीजानी र द्वेषपूर्ण रूपमा उनको मानहानि गरेको भन्दै बीबीसी यसका लागि जिम्मेवार रहेको बताए ।
एक विज्ञप्तिमा प्रवक्ताले थपे, ‘राष्ट्रपति ट्रम्पले बीबीसी र फेक न्यूज फैलाउने सबैलाई जवाफदेही बनाउन जारी राख्नुहुनेछ ।’
वृत्तचित्रको आर्थिक प्रभाव पत्ता लगाउने प्रयासमा बीबीसीले उक्त ट्रस्टलाई अदालतको आदेश जारी गरेको छ जसको व्यवस्थापन ट्रम्पका जेठा छोरा डोनल्ड ट्रम्प जुनियरले एक्लो ट्रस्टीका रूपमा गर्छन् र जसमा राष्ट्रपतिको व्यापारिक स्वार्थ र सम्पत्तिहरू रहेका छन् ।
सन् २०२४ मा ट्रम्पले जितेको राष्ट्रपतीय निर्वाचनभन्दा केही समयअघि पहिलोपटक प्रसारण गरिएको उक्त वृत्तचित्रमा उनले समर्थकहरूलाई क्यापिटलतर्फ जान भनेको एउटा खण्ड र करिब एक घण्टापछिको अर्को खण्ड समावेश गरिएको थियो जहाँ उनले नर्कमा लडेझैं लड भनेका थिए ।
बीबीसीले सो सम्पादनका लागि ट्रम्पसँग माफी मागेको थियो तर ऊ यो मुद्दा खारेज होस् भन्ने चाहन्छ । मार्चमा सार्वजनिक गरिएको अदालती कागजातमा सो प्रसारण संस्थाले ट्रम्पको पछिल्लो पुनर्निर्वाचनले कथित मानहानिले उनको प्रतिष्ठामा कुनै क्षति नपुर्याएको देखाएको उल्लेख गरेको छ ।









प्रतिक्रिया