दूरसञ्चार प्राधिकरणको कानून सदस्यका लागि पुनः दरखास्त आह्वान

42
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त सदस्य (कानून) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ । यसअघि गत बैशाख २६ गते प्रकाशित सूचना अनुसार पर्याप्त संख्यामा योग्य आवेदकहरूको आवेदन नपरेपछि मन्त्रालयले शुक्रबार पुनः नयाँ सूचना जारी गर्दै दरखास्त मागेको हो ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले प्राधिकरणको सदस्य (कानून) पदमा एक जना नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ ।

सूचना अनुसार उक्त पदका लागि आवेदन दिन निम्न योग्यताहरूकाे कानून क्षेत्रमा कम्तिमा स्नातक तह वा सो सरहको उपाधि हासिल गरेको, सम्बन्धित क्षेत्रमा कम्तिमा सात वर्षको अनुभव प्राप्त गरेको, दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

आवेदकले दरखास्तका साथमा आफ्नो व्यक्तिगत विवरण शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने कागजात र नेपाली नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ । यसका साथै, नेपाली वा अंग्रेजी भाषामा तयार पारिएको ३ देखि ५ हजार शब्दसम्मको शिलबन्दी व्यवसायिक कार्ययोजना समेत अनिवार्य पेश गर्नुपर्ने छ ।

इच्छुक उम्मेदवारले २०८१ जेठ २८ गते बिहीबार कार्यालय समयभित्र सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त दिन सक्नेछन् । थप जानकारीका लागि सञ्चार मन्त्रालयको वेबसाइटमा हेर्न सकिने छ ।