परराष्ट्रमन्त्री खनाल आजदेखि भारत भ्रमणमा जाँदै

35
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । आफ्ना भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुंगिने जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने छन् ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।