
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा राजनीतिक भागबण्डाको युग सकिएको र समृद्धिको नयाँ अध्याय सुरु भएको उद्घोष गरेका छन् ।
रास्वपाको नयाँ दिल्ली शाखाले बिहीबार आयोजना गरेको स्वागत तथा विशेष अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका लामिछानेले नेपाली समुदायलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘विगतमा धेरै मानिसहरू दिल्लीमा राजनीतिक ढोका खोल्न आए होलान्, तर म यसपटक समृद्धिको ढोका खोल्न आएको हुँ । हामी अब कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाएर हाम्रा असन्तुष्टि र समस्याहरूलाई संवादको माध्यमबाट समाधान गर्नेछौं,’ उनले भने ।
रास्वपाले आज जुन उचाइ हासिल गरेको छ, त्यसको जगमा प्रवासमा रहेका नेपालीहरूको रगत, पसिना र लगानी रहेको उनले बताए ।
‘आज राष्ट्रिय स्वतन्त्र पार्टी जहाँ उभिएको छ, त्यसमा तपाईंहरूको ठूलो लगानी छ,’ सभापति लामिछानेले भने, ‘तपाईंहरू प्रवासमा रहेर पनि देशको चिन्ता गर्नुभयो, हामीलाई आँट, साहस र हिम्मत दिनुभयो । तपाईंहरूले यो साथ नदिनुभएको भए पार्टी कुन अवस्थामा हुन्थ्यो, हामीलाई थाहा छैन । तपाईंहरूकै प्रेरणाले आज हामी देशको भविष्य कोर्ने ठाउँमा उभिएका छौं ।’
उनले प्रवासी नेपालीहरूलाई रेमिट्यान्स पठाउने माध्यमको रूपमा मात्र नहेरी उनीहरूको राजनीतिक र सामाजिक चेतनालाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।
आफ्नो भारत भ्रमणको सन्दर्भ जोड्दै लामिछानेले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आफू दिल्ली आएको बताए । उनले यस भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्चपदस्थ अधिकारीहरूसँग भएको भेटघाट र छलफलले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
‘मैले यहाँ प्राप्त गरेको सम्मान मेरो व्यक्तिगत होइन, यो तपाईंहरूको सम्मान हो, यो नेपाल र नेपालीको सम्मान हो,’ उनले बताए ।
लामिछानेले आफ्नो सम्बोधनको ठूलो हिस्सा प्रवासी नेपालीहरूको दुःख र बाध्यतामा केन्द्रित गरे । आफूले पनि जीवनको महत्त्वपूर्ण समय विदेशमा बिताएको स्मरण गर्दै उहाँले परदेशिनुको पीडा आफूले नजिकबाट बुझेको बताए ।
‘तपाईंहरूको ओठ के कुरामा मुस्कुराउँछ र तपाईंहरूको आँखा किन रसाउँछ, मलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘आफ्ना बा–आमा बिरामी पर्दा उपचार गराउन नसक्ने र छोराछोरीलाई राम्रो शिक्षा दिन नसक्ने बाध्यताले तपाईंहरूले यो माटो छोड्नुभएको हो । तर, अब रास्वपा तपाईंहरूको यो पीडामा मलम लगाउन आएको छ । हामी यस्तो नेपाल बनाउनेछौं जहाँ तपाईंहरूले आफ्नै परिवारसँग बसेर काम गर्न पाउनुहुनेछ ।’
उनले रास्वपाको सरकार आएपछि प्रवासी नेपालीहरूको समस्यालाई सर्वोच्च प्राथमिकता दिने र दूतावास लगायतका निकायहरूलाई जनताको सेवक बनाउने प्रतिबद्धता पनि जनाए । दूतावास केवल केही व्यक्तिको पहुँचमा भन्दा पनि हरेक नेपालीको दुःखको साथी बन्ने उनले बताए ।
लामिछानेले नेपालको परम्परागत राजनीतिले देशलाई ओरालो लगाएको आरोप लगाउँदै रास्वपाले नयाँ मानक स्थापित गरेको दाबी गरे । ‘हामीले राजनीतिक भागबण्डाको युग अन्त्य गर्ने कसम खाएका छौं,’ उनले भने, ‘हामी भागबण्डा गर्न होइन, नेपालीको भाग्य परिवर्तन गर्न आएका हौं ।’
उनले रास्वपाका समर्थकहरू ‘खबरदारी’ गर्ने सजग नागरिक हुनुपर्ने बताए । पार्टीले बाटो बिराएमा ट्रयाकमा ल्याउने जिम्मेवारी पनि जनताकै भएको उनको भनाइ थियो । जनताको शिर निहुराउने कुनै पनि काम सरकारले नगर्ने उनले दाबी गरे ।
सम्बोधनको अन्त्यतिर लामिछानेले युवा पुस्तालाई विशेष सन्देश दिए । उनले सपना देख्न नहिच्किचाउन आग्रह गर्दै चार वर्षअघि रास्वपाले देखेको सपना आज साकार हुन थालेको बताए ।
‘कसले देश बनाइदेला भनेर कुरेर बस्ने होइन, अब आफैं विकल्प बन्ने हो,’ उनले भने, ‘तपाईंहरूले विदेशमा आर्जन गरेको सीप र पुँजी अब देश निर्माणमा लाग्ने समय आएको छ ।’
आगामी निर्वाचनको तयारी र संगठन विस्तारको चर्चा गर्दै उनले भने, ‘के थाहा, आगामी स्थानीय चुनावमा यही हलमा रहेका कैयौं साथीहरू उम्मेदवार बनेर आउनुहुनेछ । हामी तपाईंहरूको साथ लिएर नेपाललाई एउटा नयाँ गन्तव्यमा पुर्याउन तयार छौं ।’









प्रतिक्रिया