परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाँदै, द्विपक्षीय हित र सहयोगका विविध पक्षमा छलफल हुने

49
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन् ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी डा. जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्नेछन् ।

उक्त भेटवार्ताका क्रममा दुई देशबीचको आपसी हितका विषयहरूमा विस्तृत छलफल हुने मन्त्रालयले जनाएको छ । विशेषगरी व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा र जनस्तरको सम्बन्ध लगायतका मुख्य क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने विषयमा दुवै पक्षबीच कुराकानी हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको घनिष्ठ र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

परराष्ट्रमन्त्री खनाल शुक्रबार दिल्ली प्रस्थान गरी आइतबार (जेठ २४ मा) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।