बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

77
Shares

काठमाडौं ।

देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ ।

नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार, काठमाडौँ उपत्यकाको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो गएका कारण सतुंगल–चित्लाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जेठ १६ गतेदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा मर्मत कार्य जारी रहेकाले आगामी एक महिनासम्मका लागि यातायात पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ ।

त्यस्तै, सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपि राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

कोशी प्रदेशमा पनि बाढी र पहिरोको प्रभाव देखिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

भोजपुर नगरपालिका–५ बोखिममा भने बाढीका कारण सोही लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ, जहाँ वैकल्पिक बाटोको समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँबस्तीमा पहिरो खसेकाले कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

रोल्पामा पनि पहिरोले राजमार्ग अवरुद्ध पारेको छ । परिवर्तन गाउँपालिका–१ बांमामा गएको पहिरोका कारण घोराही–थवाङ सहिद राजमार्गमा बुधबारदेखि नै यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

देशभरका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् ।

सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास गरिरहेको भए पनि प्रतिकुल मौसम र भौगोलिक कठिनाइका कारण केही स्थानमा समस्या देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।