
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट उपभोगमुखी रहेको र यसले रोजगारी सिर्जना गर्न नसक्ने बताएका हुन् ।
सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा २२ देखि २४ प्रतिशतले आयात बढ्नुपर्ने र बल्ल मात्रै तरलतामा सन्तुलन ल्याउन सक्ने उनको भनाइ छ ।
सरकारले १०–२० वर्षसम्म करका दर परिवर्तन नगर्ने आश्वासन दिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनको भनाइ छ ।
उद्यमशीलतालाई प्रोत्साहन गर्ने नै हो भने कर्पोरेट करको दर २५ र २० प्रतिशत लाई किन २० र १५ प्रतिशतमा झारिएन ? उपभोगसँग सम्बन्धित करहरू समायोजन गर्ने तर उत्पादन बढाउने करमा सुधार नगर्ने कस्तो नीति हो ? भन्दै उनले सरकारलाई प्रश्न गरे । व्यक्तिगत आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्नुले फेरि पनि उपभोगमा आधारित आर्थिक वृद्धिलाई नै प्रश्रय दिएको बताए ।
साना, मझौला तथा घरेलु उद्योगको विस्तार बिना कृषिबाट औद्योगिक क्षेत्रमा आर्थिक रूपान्तरण असम्भव रहेको खतिवडाले बताए । बजेटले एसएमई क्षेत्रका लागि पुँजी परिचालन, प्रविधि र बजार संरक्षणका बारेमा कुनै ठोस योजना नल्याएको उनको आरोप छ । खतिवडाले व्यवसायीहरूको आत्मविश्वास जगाउन र लगानीको वातावरण बनाउन करका दरहरूमा रणनीतिक परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।





प्रतिक्रिया